global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ थाहा–७ शैक्षिक गुणस्तर अभिवृद्धि अभियान समिति गठन

थाहा–७ शैक्षिक गुणस्तर अभिवृद्धि अभियान समिति गठन

थाहा–७ शैक्षिक गुणस्तर अभिवृद्धि अभियान समिति गठन

थाहाबासी एवं पूर्वविद्यार्थीहरुको सक्रियतामा मकवानपुरमा थाहा–७ शैक्षिक गुणस्तर अभिवृद्धि अभियान समिति गठन भएको छ । शैक्षिक क्षेत्रको सर्वाङ्गिण विकास र अन्य विकास निर्माणलगायतका काममा हुने ढिलासुस्तीमा खबरदारी गर्न तथा जनतालाई जागरुक गराउने उद्देश्यले रघुनाथ बजगाँईको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको हो । समितिमा विनोद अर्याल, सोमप्रसाद गर्तौला, जयराज खत्री, रामकृष्ण कार्की, ईश्वर ठकुरी र सरिता लो रहेका छन् ।

रघुनाथ बजगाँर्इ

थाहाबासी तथा पूर्व विद्यार्थीहरुको शनिबार काठमाडौंमा सम्पन्न बृहत् भेलाले सबै विद्यालयलाई नियमित सूचना सार्वजनिक गर्नसमेत आग्रह गरेको छ । भेलामा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरि ढकाल, स्थानीय समाजसेवी गौत्तमबुद्ध लामा, नेपाल एफएम नेटवर्कका समाचार प्रमुख वैकुष्ठ ढकाल, थाहा– ७ कै युवा उद्यमी ताराबहादुर स्याङतान, सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लो, प्रधानाध्यापक राजेन्द्र थापा, सहायक प्रधानाध्यापक विनोद अर्याल, विष्णु वाइवा, पूर्वशिक्षक विनोद खत्रीलगायत काठमाडौंलाई कर्मथलो बनाएका थाहाबासीको उल्लेख्य सहभागिता थियो ।
नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका अध्यक्ष ढकालले नयाँ पुस्ताको ज्ञान र सिकाइको तीव्रतर चाहनालाई सम्बोधन गर्नसके मुलुक विकासमा छिट्टै अगाडि बढ्न सक्ने धारणा राखे । स्थानीय समाजसेवी गौत्तमबुद्ध लामाले पुर्खाले गरेको योगदानलाई बिर्सन नहुने बताए । नेपाल एफएम नेटवर्कका समाचार प्रमुख वैकुण्ठ ढकालले विद्यालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने, शिक्षण पद्धति समयानुकूल बनाउनुपर्ने र विद्यार्थी भर्ना अभियानसँगै बिद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाइराख्न सक्नुपर्ने आवश्यकता औँल्याए ।
युवा उद्यमी ताराबहादुर स्याङ्तानले भुगोलअनुरुप व्यावहारिक शिक्षामा जोड दिन सुझाव दिए । थाहा– ७ को हकमा कृषिलाई प्राथमिकता दिनु उपयुक्त हुने उनको सुझाव छ । सरस्वती माविका व्यवस्थापन समिति अध्यक्ष लोले प्रविधियुक्त शिक्षाका लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।
प्रध्यानाध्यापक राजेन्द्र थापा, सहायक प्रधानाध्यापक विनोद अर्याल, विष्णु वाइवालगायतले विश्वले समुदायमा बिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । भेलाले सरस्वती माविबाट प्रविधियुक्त शिक्षा प्रदान हुनुपर्नेमा जोड दिएको छ । पूर्वविद्यार्थी रामकृष्ण कार्कीले शिक्षकको लापर्बाही मुख्य समस्याको रुपमा देखिएको भन्दै अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले विशेष ख्याल गर्नुपर्ने सुझाव दिए ।
थाहा– ७ मा विद्युत विस्तार भएको पनि केही हप्तामात्रै भएको छ । विद्युत् पुगेकाले विद्यालयलाई कम्युटर सहयोग गर्ने मुख्य उद्देश्यले काठमाडौंलाई कर्मथलो बनाएका थाहाबासी एवं पूर्वविद्यार्थीको भेला बसेको हो । भेलामा विभिन्न संघ–संस्था तथा व्यक्तिले तर्फबाट सहयोगको प्रतिबद्धता पनि जनाएका छन् । भेलामा नेपाल एफएम नेटवर्क, युवा उद्यमी ताराबहादुर स्याङ्तान, पूर्वविद्यार्थी जयराम खत्री, विद्यालयका शिक्षक र सविन्द्र कार्कीले एक/एक थान कम्प्युटर सहयोगको प्रतिबद्धता जनाए ।
पूर्वविद्यार्थी जयराम खत्रीले ३० तथा दिनेश कार्कीले २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक उपलब्ध गराउने घोषणा गरे । त्यस्तै, थाहा नगरपालिका, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ, सहसचिव रघुराम बिष्ट र थाहाबासी कमल खड्कालगायतले पनि विद्यालयलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित समय : ००:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु