गृहपृष्ठ चुनौतीपूर्ण भिडन्तमा कोलम्बिया-जापान
चुनौतीपूर्ण भिडन्तमा कोलम्बिया-जापान
सन् २०१४ को विश्वकपमा जापान र कोलम्बिया एउटै समूहमा पारेका थिए । समूह चरणको खेलमा कोलम्बियाले जापानमाथि ४–१ को सानदार जित हात पारेको थियो । चार वर्षपछि फेरि आज साँझ ५ः४५ बजे जापान र कोलम्बियाबीच समूह चरणमै प्रतिस्पर्धा हुँदैछ ।
गत संस्करणको विश्वकपमा कोलम्बियाले समूह चरणमा उत्कृष्ट खेल पस्केको थियो । जेम्स रोड्रिगेजको उच्च प्रदर्शनमा उसले समूह चरणमा मात्र होइन अन्तिम १६ सम्म पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएको थियो । तर, अन्तिम आठमा कोलम्बिया ब्राजिलसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

यसपटक रोड्रिगेजसँग अन्तराष्ट्रिय खेलको कुनै कमी छैन । स्टार खेलाडी राडामेल फल्काओले विश्वकपमा डेब्यु गर्दैछन् । फल्काओ गत संस्करणमा घाइते भएका कारण टिममा थिएनन् ।
१९९८ देखि लगातार विश्वकप खेलिरहेको जापानको प्रदर्शन भने राम्रो हुन सकेको छैन । लगातार छैटौं पटक विश्वकपमा सहभागी जापानको यसपटकको लक्ष्य अन्तिम १६ मा पुग्नु हो । जापानले सन् २००२ र २०१० मा अन्तिम १६ को यात्रा तय गरेको थियो । अन्य संस्करणमा भने जापान समूह चरणबाटै बाहिरिएको थियो । यसपटक जापानले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । तर, विश्वकप छनोट चरणमै कठिन यात्रा तय गरेको जापानका लागि आसन्न विश्वकप यात्रा सहज छैन ।
विश्व वरीयताका हिसाबले पनि जापानभन्दा कोलम्बिया बलियो टिम हो । तर, जापानलाई हल्का रुपमा लिने गल्ती उसले गर्ने छैन । कप्तान फल्काओले विश्वकपमा डेब्यु गर्दा कोलम्बियाका लागि भावुक क्षण हुनेछ ।
जापानका नयाँ प्रशिक्षक अकिरा निशिनोले अग्रपंक्तिमा विशेष ध्यान दिएका छन् । उनी जोखिम मोलेर आक्रमक रुपमा खेल्ने मनस्थितिमा देखिएका छन् । जापानको बलियो पक्ष मिडफिल्ड हो । माकोतो हासेबे र गाकु शिवासाकीले फरवार्डहरु केइसुके होन्डा र सिन्जी कागावालाई सटिक पास उपलब्ध गराउन मिहिनेत गर्ने विश्वास गरिएको छ । विशेषगरी जापानले काउन्टर आक्रमणलाई सदुपयोग गर्नसकेमा बलियो कोलम्बियालाई दबाव पर्नेछ ।
जापान र कोलम्बियाबीच अहिलेसम्म तीन खेल भएको छ । तीनवटै खेलमा कोलम्बिया विजयी भएको छ । सन् २००३ मा कोलम्बियाले जापानलाई १-० ले हराउँदा २००७ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । गत विश्वकपमा भने कोलम्बियाले ४-१ को जित हात पारेको थियो ।
प्रकाशित समय : १६:०५ बजे




















