गृहपृष्ठ काठमाडौँमा एक युवती बलात्कृत, दुई प्रहरी जवान पक्राउ
काठमाडौँमा एक युवती बलात्कृत, दुई प्रहरी जवान पक्राउ
एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना प्रहरी जवान पक्राउ परेका छन् । कलंकीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । प्रसाईं र पोखरेल दुबै सशस्त्र प्रहरी हुन् र उनीहरु बलम्बुमा रहेर काम गर्दै आएका थिए । पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा पोखरेल र प्रसाईँलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख डिएसपी प्रदीपकुमार क्षेत्रीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पुष्टि गरे ।
दुई वर्षअघि ‘ब्रेकअफ’ भएको सम्बन्ध पुनः सुधार्ने भन्दै पोखरेलले ती युवतीलाई काठमाडौँको एक होटेलमा बोलाएका थिए । तर, उनी त्यहाँ एक्लै नगएर साथीलाई पनि लिएर गएको र दुई वटा कोठा बूक गरेको पीडित युवतीले बताएकी छन् । ती युवतीका अनुसार उनीहरुले मदिरा सेवन गरी उनको बलात्कार गरेका हुन् ।
हालैमात्रै कञ्चनपुरमा श्रृङखलाबद्ध ढंगले बलात्कारका घटना बाहिरिरहेका बेला राजधानीमा यो घटना घटेको हो । संसदमासमेत बलात्कार र महिला हिंसाजन्य घटनालाई लिएर ठूलो हंगामा मच्चिएको छ ।
प्रकाशित समय : २०:४६ बजे


















