स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन
वि.सं.२०८३ मंसिर १३ आइतवार १७:५५
shares

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले छ अर्बको बजेट विनियोजन गरी पुनर्निर्माण तथा पुनःस्थापनका कार्य सुरु गरेको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले बाढीबाट पुरिएको गोसाइँकुण्ड गाउँपालिकाका–५ स्थित स्याफ्रुबेसीमा स्वास्थ चौकीको अस्थायी संरचनाबाट सेवा सञ्चालनका लागि आज हस्तान्तरण गरे ।
बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनले जानकारी दिए ।
यसैगरी, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले बाढी प्रभावित रसुवा र नुवाकोटमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनसम्बन्धी कार्यप्रगतिबारे जानकारी दिए । सेभ द चिल्ड्रेनको सहयोगमा तीन श्ययाको उक्त चौकी भवन निर्माण हुँदैछ ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आधारभूत सेवा पुनःस्थापना र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन तीन तहको सरकारले प्राथमिकताका साथ काम अघि बढाउन आवश्यक रहेकोे बताए ।

























