काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानव बेचबिखनसम्बन्धी विधेयकलाई पीडितमैत्री र समावेशी बनाउनुपर्छ : सांसद पौडेल

483
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौडेलले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनलाई पीडितमैत्री, समावेशी र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि सरोकारवालाबीच आयोजित ‘हेलो सांसद’ अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पौडेलले विधेयकलाई अन्तिम रूप दिनुअघि पीडित, अधिकारकर्मी, नागरिक समाज तथा सम्बन्धित संस्थाबाट प्राप्त सुझावलाई समेट्नुपर्ने बताइन् ।

उनले भने, ‘विधेयकको मस्यौदा तयार गर्नुअघि मन्त्रालयले विभिन्न पक्षसँग सुझाव संकलन गरेको थियो । विधेयक संसद्मा प्रस्तुत भएपछि सैद्धान्तिक छलफल र संशोधन प्रस्तावहरू आएका छन् ।’

हाल विधेयक समितिमा दफावार छलफलको क्रममा रहेको उनले जानकारी दिइन् । पौडेलले विधेयकमा आन्तरिक मानव बेचबिखनलाई समेत स्पष्ट रूपमा समेट्नुपर्नेमा जोड दिइन् ।

मानव बेचबिखनलाई विदेशमा हुने कारोबारका रूपमा मात्र बुझ्ने परम्परागत सोचलाई परिवर्तन गर्दै देशभित्रै हुने बेचबिखन तथा शोषणका घटनालाई पनि कानुनी परिभाषामा समेट्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पीडितले उजुरी दिने प्रक्रिया सहज र सुरक्षित बनाउनुपर्ने उनले बताइन् । उजुरी दिने व्यक्तिको गोपनीयता, सुरक्षा र संरक्षण सुनिश्चित गर्न प्रहरीमा मात्र सीमित नगरी राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगलगायत राज्यका अन्य सम्बन्धित निकायबाट समेत उजुरी दिन सक्ने व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

‘न्यायका लागि अगाडि आउने पीडितका लागि राज्यले खुला ढोका राख्नुपर्छ । उजुरी दिने निकायलाई सीमित गर्दा पीडितलाई थप कठिनाइ हुन सक्छ,’ उनले भनिन् ।

उनले विधेयकमा लैङ्गिकमैत्री भाषा प्रयोग गर्नुपर्ने र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारलाई समेत सम्बोधन गर्नुपर्ने बताइन् । छोरा–छोरीको सट्टा सन्तानजस्ता समावेशी शब्द प्रयोग गर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिइन् ।

पौडेलले मानव बेचबिखन नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक रहेको उल्लेख गरिन् ।