सरकारविरुद्ध धनुषा कांग्रेसले १५ हजार जनता सडकमा उतार्ने
वि.सं.२०७५ साउन १३ आइतवार १९:४८
shares

नेपाली कांग्रेस धनुषाले सरकारविरुद्ध १५ हजार जनतालाई सडकमा उतार्ने भएको छ । वर्तमान सरकार निरंकुश र लोकतन्त्रविरोधी भएको आरोप लगाउँदै धनुषा कांग्रेसले साउन १५ गते जनतालाई सडकमा उतार्ने भएको हो ।
नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा कांग्रेस धनुषा अध्यक्ष महेश शंकर गिरीले सरकार अधिनायकवाद उन्मुख देखिएको भन्दै त्यसविरुद्ध प्रदर्शन गर्न लागिएको बताए ।
संविधान अनुसार संसदमा एउटै पार्टीको सभामुख र उपसभामुख राख्न नमिल्ने भए पनि वर्तमान सरकारले संविधानको खिल्ली उडाउँदै आएको भन्दै सडकमा जनता उतार्न बाध्य भएको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले वर्तमान सरकारले दुई तिहाइको बलमा आफूअनुकुल काम गर्दै देशमा अधिनायकवाद लादन खोजेको आरोप लगाए ।
जनकपुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य स्मृति नारायण चौधरी, २ नम्बर प्रदेशसभा सदस्य सरस्वती चौधरी, उर्मिला दास, कांग्रेस धनुषाका उपाध्यक्ष सन्तोष यादव, सचिव विशेश्वर यादवलगायत नेताकार्यकर्ता उपस्थित थिए ।






















