गृहपृष्ठ लिफ्ट खानेपानीको काम सुरु भएपछि रामेछापको गेलुबासी हर्षित
लिफ्ट खानेपानीको काम सुरु भएपछि रामेछापको गेलुबासी हर्षित
रामेछाप– रामेछापको मन्थली नगरपालिका–११ मा लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएसँगै स्थानीयमा खुसियाली छाएको छ । वडा कार्यालयको नेततृत्वमा तामाकोसी लिफ्ट खानेपानीको काम सुरु भएपछि खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयबासी हर्षित बनेका हुन् ।
वडा कार्यालयको नेत्तृत्वमा तामाकोसीको पानी लिफ्ट प्रविधिमार्फत गाउँमा पुर्याउन स्थानीय लागिपरेका छन् । खानेपानी आयोजना केन्द्रीय योजनामा परेपछि आफ्नै गोजीबाट पैसा हालेर गेलुबासी आयोजना निर्माणमा जुटेका छन् । लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएसँगै वडा नम्बर ११ का २ हजार २ सयभन्दा बढी घरपरिवारमा खुसी छाएको स्थानीय होमबहादुर बुढाथोकीले बताए ।
द्रुत गतिमा निर्माण भइरहेको नागिला खानेपानी लिफ्ट खानेपानीबाट मन्थली–११ का नाटिला, माख्लो नाटिला, खमारे, सावा डाँडा र काउलेका बासिन्दालाई खानेपानी सहज हुनेछ । स्थानीय बासिन्दा उत्साहका साथ आयोजना निर्माणमा जुटेको नागिला खानेपानी लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापामगरले जानकारी दिए ।
मन्थली नगरपालिका–११ को प्रमुख समस्या खानेपानी नै हो । खानेपानी नहुँदा यो वडाका धेरै मानिस अन्यत्र बसाइँ सरिसकेका छन् । यही समस्यालाई मध्यनजर गरेर आफूहरुले लिफ्ट खानेपानी आयोजना सुरु गरेको र यसलाई केन्द्रीय सरकाराले सहयोग गर्नुपर्ने मन्थली–११ का अध्यक्ष भीमबहादुर थापामगर बताउँछन् ।
मन्थली नगरपालिका–११ रामेछापको एउटा प्रतिनिधिमूलक ठाउँ हो । जिल्लाको साविकका २७ भन्दा बढी गाविस सुख्खाग्रस्त छन् । यी ठाउँमा वर्षातको समयमा समेत खानेपानीको हाहाकार हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट एकाध ठाउँमा लिफ्ट खानेपानी आयोजना बने पनि अपर्याप्त छ । तामाकोशीनजिक रहेका बस्तीलाई लिफ्ट खानेपानी आयोजना प्रभावकारी भए पनि अन्य ठाउँका नागरिकलाई भने पिउनेपानी ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ ।
प्रकाशित समय : ०३:०९ बजे



















