काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

399
shares

दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ ।

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।

किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताउँदै यस्तो गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । उनले कूटनीतिक माध्यमबाट रुससँग कडा विरोध जनाइएको र घटना नदोहोर्‍याउन माग गरिएको जानकारी दिए ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ । यद्यपि, रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।

जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो । गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो ।