बारामा गोठमा आगलागी हुँदा भैँसीसहित तीन पशु जलेर मरे, अढाई लाखको क्षति
वि.सं.२०८३ मंसिर १ मंगलवार ११:४३
shares

रौतहट । बाराको प्रसौनी गाउँपालिका–६ बेलहियामा गोठमा आगलागी हुँदा भैँसीसहित तीनवटा पशु जलेर मरेका छन्। आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
मंगलबार बिहान ४ बजेर ५ मिनेटको समयमा स्थानीय ४० वर्षीय राजदेव यादवको इँटाको पर्खाल र फुसको छानो भएको गोठमा अचानक आगलागी भएको हो।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) विनोद राना मगरको कमान्डमा सात जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४ बजेर ४० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मानबहादुर घलेका अनुसार आगलागीबाट गोठमा रहेका एक भैँसी, एक पाडा र एक बाख्रा जलेर मरेका छन्। साथै लत्ताकपडा र दमकलको पाइप दुई रोलसमेत जलेर नष्ट भएका छन्।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण छ।

























