गृहपृष्ठ आईसीयूबाहिरको एउटा चित्कार– गरिबलाई पनि बाँच्न देऊ सरकार !

आईसीयूबाहिरको एउटा चित्कार– गरिबलाई पनि बाँच्न देऊ सरकार !

आईसीयूबाहिरको एउटा चित्कार– गरिबलाई पनि बाँच्न देऊ सरकार !

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको आईसीयू कक्षको भित्र–बाहिर गरिरहेकी हुन्छिन्- ३० वर्षीया एक युवती । उनमा निकै छटपटाहट देखिन्छ, अनुहार फुङ्ग उडेको छ । करिब १५ दिनदेखि एउटै पोसाक अनि नकोरेको कपालमा छिन् उनी । बेला–बेला कसैले नदेख्ने गरी भक्कानिन्छिन् । नजिकै रहेका उनका दाजुले थम्थमाउँछन्, अनि फेरि सम्हालिन्छन् । र, १५ दिनदेखि आईसीयूको बेड नम्बर १ मा भेन्टिलेटरको सहयोगमा श्वास फेरिरहेका ४१ वर्षीय श्रीमान डोरबहादुरलाई सिसाबाहिरबाट हेरेर टोहलाइरहन्छिन् ।

बिजुला थापाले श्रीमानको उपचारका लागि प्युठान गोठीबांगमा रहेको पाखोबारी पनि बेचिसकिन् । उनीसँग अब पहाडमा एउटा घरमात्रै छ । त्यो पनि बेचेर उपचार गर्न खोजेकी हुन् तर बिक्री भएन ।
नाता कुटुम्ब सबैसँग ऋणधन गरेर चार लाखभन्दा बढी अस्पतालमा खर्च गरिसकेकी छन् । उनी श्रीमानलाई जसरी पनि बचाउन चाहिन्छन् । तर, दैनिक २०–२५ हजार खर्च भइरहेको छ । तर पनि घरमा १२ वर्षीय अपांग छोरा र ८ वर्षीया छोरीलाई छाडेर उपचारमा जुटेकी छन् ।

‘कमाउने श्रीमान मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ । म के गरौं ? बेच्न मिल्ने भए म आफू बेचिएर पनि श्रीमानको उपचार गराउन चाहन्छु,’ आईसीयूबाहिर भेटिएकी उनले गहभरी आँसु पार्दै भनिन्, ‘यो देश हामी जस्ता गरिबका लागि रहेनछ ।’

बिजुलाले चिनेजानेका मान्छेमार्फत प्युठानबाट चुनाव जितेका सांसद कृष्णध्वज खड्का र हरि रिजाल अनि स्वर्गद्वारी नगरपालिका प्रमुखलाई पनि गुहारिन् । उनीहरुले पनि मौखिक आश्वसनमात्रै दिए । तपाईं नआत्तिनिुस् हामी गर्छौ भन्नुहुन्छ तर खै केही सहयोग भएन ।

आफैंले मत दिएर चुनाव जिताएका नेताले परेको बेला गुहार माग्दा पनि खासै वास्ता नगरेको उनले बताइन् । सञ्चारमाध्यममा समाचार आउन थालेपछि रोट्याक्ट क्लब अफ भैरहवाले उनलाई सहयोग गरिरहेको छ ।

आइतबारदेखि क्लबले मेडिकल कलेज भैरहवामा पुगेर बिरामी, बिरामीका परिवार र उपचारमा संलग्न डक्टरलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । आर्थिक व्यवस्थापन गर्नसके बिरामी निको हुने आश्वासन अस्पतालबाट पाएपछि क्लब आर्थिक संकलन अभियानमा जुटेको छ । क्लबले ५० हजार १ सय ५ रुपैयाँ बिरामीकी श्रीमती बिजुलालाई प्रदान गरेको अध्यक्ष माधव न्यौपानेले जानकारी दिए । ‘थप आर्थिक संकलनमा जुटेका छौं,’ उनले भने ।

हालसम्म अस्पताललाई करिब ३ लाख बुझाइसकेको र करिब डेढ लाख बुझाउन बाँकी रहेको बिजुलाले बताइन् । निम्न वर्गीय थापा क्षेत्रीलाई आँपको रुखबाट लडेर गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवा ल्याइएको हो । उपचारमा संलग्न न्युरोसर्जन डा. राजकुमार केसीका अनुसार उनको घाँटीको हड्डी भाँचिएको छ । भाँचिएको हड्डीको शल्यक्रिया भइसकेको छ । तर, श्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरमा राख्नुपरेको उनले बताए ।

प्रकाशित समय : ०२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु