सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
वि.सं.२०८३ कात्तिक २९ आइतवार १८:३९
shares
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ । नेपाल प्रहरीले साढेपाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले साढेपाँच किलो सेतो हेरोइनसहित अन्तरराष्ट्रिय लागुऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागुऔषध ओसारपसारमा सङ्लग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले पक्राउ परेका तिघारे लागुऔषध कारोबारको अन्तरराष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । उनका अनुसार प्रहरीले जाँचका क्रममा निजले साथमा ल्याएको लगेजभित्र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको उक्त मात्राको सेतो हेरोइन बरामद गरेको हो ।
बरामद गरिएको हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजारका दरले करिब २२ करोड पर्ने ब्यूरोले जनाएको छ । उक्त हेरोइन भारत पुर्याएपछि त्यहाँको बजारमा अझै महँगो मूल्यमा बिक्री हुने गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बोहोराले बताए ।
पक्राउ परेका तिघारे यसअघि पनि लाओस हुँदै नेपाल दुई पटक आएका र नेपालबाट भारतसम्म लागुऔषध पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट मेकानिकल इञ्जिनियरिङको प्रमाणपत्रसमेत बरामद गरेको छ ।
तिघारेलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उक्त ऐनअनुसार बरामद लागुऔषधको परिमाण र कसुरको प्रकृतिका आधारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ ।

























