काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना

714
shares

सिड्नी, (अस्ट्रेलिया) । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, आस्था र उत्साहका साथ छठ पर्व मनाएको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सम्पन्न भएको हो ।

आयोजक संस्थाका प्रतिनिधि अरुण कुमार ठाकुरले नेपाल न्यूज बैंकसँग कुरा गर्दै यस वर्षको कार्यक्रम अत्यन्त सफल भएको बताए । उनका अनुसार छठी माताको पूजा आराधनाका लागि दुई हजारभन्दा बढी श्रद्धालु कार्यक्रममा सहभागी भएका थिए । स्थानीय नगरप्रमुख, विभिन्न स्थानीय अगुवा तथा नेपाली समुदायका संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको उनले जानकारी दिए ।

महोत्सवको पहिलो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पूजाको विशेष अनुष्ठान गरिएको थियो । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि धार्मिक विधिअनुसार पूजा सम्पन्न गरिनेछ । श्रद्धालुहरू परम्परागत पहिरन र पूजाका सामग्रीसहित घाटमा भेला भएका थिए ।

क्यानबेरामा पूजा स्थलको अभाव, घरबाटै छठी माताको आराधना

सिड्नीमा हजारौँ नेपाली एकै ठाउँमा भेला भएर छठ पर्व मनाइरहँदा अस्ट्रेलियाका अन्य सहरमा रहेका नेपालीले भने सामूहिक पूजा गर्ने उपयुक्त स्थान नपाउँदा घरबाटै छठी माताको आराधना गर्नुपरेको छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्ने राजा गुप्ता यस वर्ष छठ पूजाका लागि उपयुक्त स्थानको खोजीमा थिए । तर, धेरै प्रयास गर्दा पनि पूजा गर्न मिल्ने स्थान फेला पार्न नसकेपछि उनले घरमै पूजा गर्ने निर्णय गरे ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै गुप्ताले आफ्नो जन्मथलो वीरगन्जमा परिवार तथा आफन्तहरूले छठ पर्व मनाइरहेको दृश्य भिडियोमा हेर्दा भावुक बनेको बताए । वीरगन्जका घाटमा श्रद्धालुको भीड, छठका गीत र पूजाको उल्लास देख्दा आफूलाई घरको निकै सम्झना आएको उनको भनाइ छ ।

जन्मभूमिमा परिवार र आफन्तसँगै छठ मनाउने चाहना हुँदाहुँदै विदेशमा पूजा गर्ने स्थानसमेत नपाउँदा दुःख लागेको उनले बताए ।

नेपालको तराई–मधेस क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व अहिले अस्ट्रेलियाका विभिन्न सहरमा रहेका नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ । सामूहिक रूपमा आयोजना हुने यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, धार्मिक परम्परा र मौलिक पहिचानसँग जोड्न सहयोग पुर्‍याउँदै आएका छन् ।

सिड्नीमा देखिएको ठूलो जनसहभागिताले नेपाली समुदायको सांस्कृतिक एकता र आफ्नो परम्पराप्रतिको लगाव झल्काएको छ । अर्कोतर्फ, क्यानबेरामा पूजा स्थल नपाएर घरमै आराधना गर्न बाध्य भएका नेपालीको अनुभवले अस्ट्रेलियाका अन्य सहरमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थलको आवश्यकता औँल्याएको छ ।