काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगामी मङ्सिर १ गते राप्ती नदी दिवस मनाइँदै

420
shares

नारायणगढ । राप्ती नदीको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १ गते राप्ती नदी दिवस मनाइँदैछ । चितवन उपत्यकामार्फत पूर्वदेखि पश्चिमसम्म बग्ने राप्ती दिवसका अवसरमा मकवानपुरको भीमफेदीबाट चितवनको गोलाघाटसम्म नदी किनारका विभिन्न स्थानमा एकैसाथ बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको संयोजन तथा चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, पर्यटन व्यवसायी, मकवानपुर र चितवनका डिभिजन वन कार्यालयलगायत विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा कार्यक्रम हुन लागेको हो ।

अभियानका संयोजक अपिल घिमिरेले राप्ती नदीको मुहान क्षेत्र मकवानपुरको भीमफेदीबाट चितवनको गोलाघाटसम्म एकैपटक सरसफाइ गरी नदी संरक्षणबारे जनचेतना फैलाउने उद्देश्य रहेको बताए । उनले भने“हाम्रो अभियान भनेको नदीलाई संरक्षण गर्नु हो । सरसफाइ गरी मङ्सिर १ गते दिवसका रूपमा मनाउन थालेका हौँ । विसं २०७२ देखि यो अभियान सञ्चालन गरेका छौँ । विगत चार वर्षदेखि दिवसकै रूपमा मनाउन थालेका हौँ ।”

उहाँका अनुसार गत वर्ष एकैपटक १६ स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्ष अझ बढी स्थान र सङ्घसंस्थाको सहभागिता रहने अपेक्षा गरिएको छ । दिवसका रूपमा एक दिन सरसफाइ गरे पनि नदी संरक्षणका लागि हरेक दिन सरसफाइमा जुट्न आवश्यक रहेको उनले बताए ।

मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई विभिन्न सहायक नदीहरूसँग जोडिँदै हेटौँडा, मनहरि र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । यसका सहायक नदीहरू कर्रा, लोथर, खगेरीलगायत पनि उत्तिकै महत्वपूर्ण छन् ।

राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवं आगन्तुक चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि पनि यो नदी महत्त्वपूर्ण रहेको अभियानका संयोजक घिमिरेले बताए । नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग समेत राप्ती नदीको गहिरो सम्बन्ध रहेको छ ।

नदीमा फालिने प्लास्टिकजन्य फोहर तथा अन्य प्रदूषणका कारण जलचरको बासस्थान र नदीको पारिस्थितिक प्रणालीमा असर पर्दै गएको संयोजक घिमिरेको भनाइ छ । नदीमा बढ्दो मानवीय चाप र फोहरमैला न्यूनीकरण गर्दै जलचर तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्न सरसफाइसँगै जनचेतना फैलाउन अभियानले सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

अभियान सबैको साझा भएकाले नदीको महत्त्व र संरक्षणको आवश्यकताबारे बुझ्न तथा सरसफाइमा सहभागी हुन उनले स्थानीयवासी, संरक्षणकर्मी, युवा, पर्यटन व्यवसायी र सरोकार भएका सबैलाई आग्रह गरे। दिवसका दिन बिहान ८स्०० बजेदेखि आआफ्नो पायक पर्ने राप्ती नदी किनारका स्थानमा उपस्थित भई अभियानमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।