गृहपृष्ठ पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं बिरामी
पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं बिरामी
मोरङको सुरन्दहरैचा–७, गोठगाउँमा रहेको रहेको पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज आफैं बिरामी थला परेको छ । सरकारले २०५२ सालमा मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको आठ सय पाँच बिघा जमिन लिएपछि मेडिकल कलेजले भौतिक पूर्वाधार निर्माण गरेको थियो ।
तर, सञ्चालन, रेखदेख र संरक्षण अभावमा भवन लथालिङ अवस्थामा छ भने विश्वविद्यालय घाँसे मैदान र गौचरणमा परिणत भएको छ । पूर्वीनेपालको गौरवको रुपमा स्थापित मेडिकल कलेज सञ्चालन नहुँदा करोडौं लागतमा निर्मित भवनहरु जंगलभित्रको भूतबंगलामा परिणत भएका छन् ।
कलेजका सयौंं शय्या प्रयोगहीन छन् । सामान्य ओपिडी उपचारबाहेक केही हुँदैन । उपचार गराउन आएका स्थानीयले सामान्य औषधिसमेत नपाउने गरेको बताएका छन् । नजिकै मेडिकल कलेज भए पनि आकस्मिक बिरामी धरान वा विराटनगर लैजानुपर्ने बाध्यता उनीहरुलाई छ ।
क्याम्पस प्रमुख कविता अधिकारीले विभिन्न समस्याका कारण मेडिकल कलेज व्यवस्थित रुपमा सञ्चालन गर्न नसकिएको स्वीकार गरिन् । ‘केही भवन भूकम्पका कारण जीर्ण हुँदै गएका छन्,’ उनले भनिन्, ‘भवन मर्मत गर्ने खर्चसमेत अभाव हुँदा समस्या भइरहेको छ ।’
समस्या धेरै भए पनि सुधारोन्मुख रहेकाले भवन मर्मत गर्ने खर्च अभावकै कारण समस्या भइरहेको विश्वविद्यालय मेडिकल कलेजले जनाएको छ । मर्मत अभावमा आकर्षक भबनहरुको बेहाल भएको छ । भवनहरु घाँसले घेरिएका छन् । समस्याको चाङ देखिएपछि बिरामीसमेत स्वास्थ्योपचारका लागि आउन छाडेका छन् ।
प्रकाशित समय : २२:४४ बजे