गृहपृष्ठ प्रदेश ५ प्रदेश सभा : दुई विधेयक र एक प्रतिवेदन पेस
प्रदेश ५ प्रदेश सभा : दुई विधेयक र एक प्रतिवेदन पेस
प्रदेश ५ को प्रदेश सभा बैठकमा दुई विधेयक र एक विधेयकसँग सम्बन्धित विषयगत समितिको प्रतिवेदन पेस भएका छन् । बिहीबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक र प्रदेशअन्तर्गतका गाउँ तथा नगर सभाको कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेस गरेका हुन् ।
बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिको प्रतिवेदन समितिका जेष्ठ सदस्य भोजप्रसाद श्रेष्ठले पेस गरे । प्रतिवेदन पेस गर्नुअघि नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा नियमावलीको नियम ९९,१०७ र ११० निलम्बनसम्बन्धी पेस गरेको प्रस्ताव सभाले पारित गरेको थियो ।
यसअघिका बैठकमा विशेष समय लिएर बोल्ने नेपाली कांग्रेसकी सांसद रिना नेपाल बिक र राजपाकी कल्पना पाण्डेले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुले एक–अर्कालाई आरोप लगाउँदा सांसदको गरिमालाई ख्याल गर्नुपर्नेमा जोड दिए ।
बिहीबारकै बैठकमा विशेषाधिकार समितिमा रहने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहे पनि सो दलबाट समितिमा रहने सदस्यहरुको नामावली प्राप्त नभएको भन्दै सभामुख पूर्णबहादुर घर्तीले तेस्रो नम्बर कार्यसूचीबाट हटाएका थिए । प्रदेश सभाको बिहीबारको बैठक २५ मिनेटमै सकिएको थियो । अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित समय : २२:५४ बजे


















