चिसापानीगढीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १४:१८
shares

सारांश
- सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
- समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
काठमाडौं । सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज जारी गरेको विज्ञप्तिमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन छानबिन समिति गठन गरिएको जनाएको छ ।
“सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ । यस दुःखद् घटनामा जीवन गुमाउनुहुने व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ साथै, उपचाररत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ–सर्लाही रुटमा सञ्चालनमा रहेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन बिहीबार अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी छ जना घाइते भएका थिए । दुर्घटनामा परी ज्यान गुमाउने यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा छन ।
कार्यालयका अनुसार सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको छ । घाइतेहरूको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

























