काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

1.51K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको कार्यक्रममा त्रिविको संस्थागत ब्रान्ड स्थापित र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषय केन्द्रित रही छलफल भयो ।

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनुपर्ने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्नुपर्ने विषय उठाइयो ।

छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइयो ।

त्रिविका उपकुलपति प्रा डा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा अन्जना सिंह, रजिष्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीन सहभागी थिए ।

सल्लाहकार झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए । सम्बन्धन प्रदान गर्ने कार्यमा सङ्ख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले त्रिविसँग सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने बताए ।

क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै सल्लाहकार झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।