एनभिडियाका सीईओलाई हटाउने तयारी
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १६:२७
shares
FILE - Jensen Huang, president and CEO of Nvidia, waits for a groundbreaking ceremony for an expansion of Coherent's manufacturing facility to begin on June 16, 2026, in Sherman, Texas. (AP Photo/Jeffrey McWhorter, File)
अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनिमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ । यसअघि सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएको थियो ।
हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको सन्देशमा एलिससँगको सम्बन्ध स्वीकार गर्दै पत्नीप्रति बेइमानी गरेको बताएको थिए । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध रहेको आरोप लगाएको विवरण पनि सार्वजनिक भएको छ ।
एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचरको निशानामा परेको रिपोर्टबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको छ । उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छन् । यसैबीच, अमेरिकी कङ्ग्रेसले पनि एलिससँगको सम्बन्धबारे उनिसँग बन्द कोठामा जानकारी मागेको न्युयोर्क टाइम्सले जनाएको छ ।
व्यक्तिगत सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा गिरावट आएको छ । कम्पनी र हुआङविरुद्ध लगानीकर्तासँगको सम्बन्धबारे आवश्यक जानकारी नदिएको आरोपमा सेयरधनीहरूले सामूहिक मुद्दासमेत दायर गरेका छन् । कृत्रिम बौद्धिकता (एआई)प्रविधिका लागि चिप उत्पादन गर्ने एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक हो ।

























