छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १७:११
shares

काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको छ ।
काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार गौरीघाटमा गुह्येश्वरी घाटसम्म करिब ६०० पूजास्थल व्यवस्थापन गरिँदै छ । घाटमा सरसफाइ, टेन्ट, बत्ती तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको उनले बताए ।
यस वर्ष पनि एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको यादवले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले बताए ।
यादवले छठ पर्वमा जातजाति, धर्म र समुदायबीचको विभेद नरहने बताउँदै यसलाई सामाजिक सद्भाव र एकताको पर्वका रूपमा व्याख्या गरे । उनका अनुसार एउटै जलाशयमा सबै जातजाति र धर्मावलम्बीले एकै ठाउँमा बसेर पूजा गर्ने भएकाले छठ सामाजिक समावेशिताको उदाहरणसमेत हो ।
‘पहिले छठलाई मिथिला र मधेसमा मनाइने पर्वका रूपमा बुझिन्थ्यो । अहिले सबै जातजाति र धर्मावलम्बीले मिलेर मनाउने साझा पर्व बनेको छ । एउटै जलाशयमा सबैले सँगै बसेर पूजा गर्छन् । यहाँ जात, धर्म, धनी र गरिबबीच कुनै विभेद हुँदैन,’ उनले भने ।
उनले छठ प्रकृति र मानव जीवनसँग जोडिएको पर्व भएको बताए । छठमा सूर्य, पानी, माटो, हावा र प्रकृतिको पूजा गरिने उल्लेख गर्दै नयाँ अन्न, फलफूल, उखु तथा माटाका भाँडालाई प्रसादका रूपमा प्रयोग गरिने उनले बताए ।
यादवका अनुसार गौरीघाटमा छठ पूजाको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ । घाटमा टेन्ट, बत्ती र पुल निर्माणको काम भइरहेको छ भने सुरक्षाका विषयमा समेत छलफल गरिएको छ ।
उनले कात्तिक २८ गते बेलुकासम्म सरसफाइ, बत्ती जडान र पूजास्थलको सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य रहेको बताए । यादवले छठका अवसरमा मात्रै नभई वर्षभरि नै बागमती नदी किनारको सरसफाइ र सौन्दर्यकरण हुनुपर्ने आवश्यकता औँल्याए । पर्वका बेला नदी किनार सफा गरिए पनि नियमित सरसफाइको व्यवस्था नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
उनले भने,‘वर्षमा एकपटक छठ आउँदा मात्रै झिलिमिली बत्ती बालेर हुँदैन । यहाँ दिनहुँ सरसफाइ गर्ने टोली हुनुपर्छ । नदी किनारको नियमित सौन्दर्यकरण हुनुपर्छ,’ उनले भने, ‘अहिले पनि पूजापछि फूल, फलफूल र प्लास्टिक फाल्ने समस्या छ । यसलाई पूर्ण रूपमा रोक्न सकेका छैनौँ ।’
उनले छठका बेला सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए ।
छठ पर्वमा पूजा गर्न आर्थिक अवस्था कमजोर भएका व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने गरिएको पनि यादवले बताए । ‘पूजा गर्न कसैलाई पनि पैसाकै कारण वञ्चित गराउँदैनौँ । १ हजार ५०० रुपैयाँ तिर्न नसक्नेले पनि यहाँ पूजा गर्न पाउँछन्,’ उनले भने ।
छठ पर्वमा कात्तिक शुक्ल चतुर्थीदेखि व्रत सुरु गरी षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।

























