गृहपृष्ठ पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः गुरुङ
पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः गुरुङ
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन, ऊर्जा, कृषि र उद्योग प्रदेशको समृद्धिका आधार भएको बताएका छन् ।
प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि उद्योग, उद्यमशीलता विकास तथा लघु उद्यम विकास मोडेलसम्बन्धी अभिमुखीकरण गोष्ठीको पोखरामा उद्घाटन गर्दै गुरुङले लघु उद्यमको माध्यबाट रोजगारीको सिर्जना गर्नु अपरिहार्य भएको बताए ।
प्रदेशको नीति तथा कार्यक्रममा मुस्ताङ, मनाङ र पोखराका आसपासमा लगभग ३ सय घरवास कार्यक्रम सञ्चालन गरिने योजना रहेको जानकारी दिँदै उनले प्राथमिकताका आधारमा एक वर्षमा ५० हजार रोजगार र एक लाख स्वरोजगार जनशक्ति तयार गर्ने दावी गरे ।
त्यसैगरी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्यमी संगठित भएर बजारमा प्रतिष्पर्धा गर्नुपर्ने बताउँदै त्यस्ता कार्यक्रममा प्रादेशिक सरकारको महत्वपूर्ण सहयोग रहनेमा जोड दिए ।
यस्तै सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडाले लघु उद्यम विकास कार्यक्रमलाई गरिबी न्यूनीकरणमा जोडिनुपर्ने उल्लेख गरिन् ।
प्रदेश सरकारका मुख्यसचिव लक्ष्मण अर्याल, नेपालस्थित अष्टेलियन दूतावासका तारा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा बुद्धिसागर पौडेल, मेडेपका प्रबन्धक डा रामजी न्यौपाने, नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायतको उपस्थिति थियो भने प्रदेशमा लघु उद्यमबाट उत्पादित सामग्री पनि प्रदर्शन गरिएको थियो ।
(रासस)
प्रकाशित समय : १२:३६ बजे



















