गृहपृष्ठ लामाचौरमा तीज महोत्सवसँगै महिला भलिबल प्रतियोगिता
लामाचौरमा तीज महोत्सवसँगै महिला भलिबल प्रतियोगिता
महिलाहरुको मुख्य पर्व हरितालिका तीजका अवसरमा भदौ तेस्रो साता पोखराको लामाचौरमा महोत्सव आयोजना गरिएको छ । नव आदर्श सामुदायिक विकास समाजको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवमा महिला भलिबल प्रतियोगितासमेत आयोजना गरिएको अध्यक्ष बमबहादुर गुरुङले जानकारी दिए ।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवमा संस्कृति र खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवको अवसरमा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीयसहित ६ टिमले सहभागिता जनाउनेछन् । विभागीय एपीएफसहित नेपाल प्रहरी र नेपाली सेना तथा काठमाडौंको न्यु डाइमन्ड एकेडेमी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिबल संघ तथा चितवनको चितवन टाइगरको संयुक्त एक टिम गरी ६ टिमको सहभागिता रहने खेल संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले एक लाख, दोस्रो हुनेले ६५ हजार, तेस्रो हुनेले २५ हजार र चौथो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
लामाचौर तीज महोत्सवका अवसरमा अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता, नरबहादुर बानियाँ स्मृति प्रदेशस्तरीय सितोरियो कराँते प्रतियोगिता, अन्तरसमूह तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, खुला युगल नृत्य प्रतियोगिता, महिला समूहगत लोकनृत्य प्रतियोगितालगायत पनि आयोजना हुने प्रचार संयोजक धर्ममान सिंह भण्डारीले जानकारी दिए । यी प्रतियोगिताका विजेताले २५ तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महोत्सव भदौ २३ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय : २२:१५ बजे



















