गृहपृष्ठ बेलका नगरपालिका : उपप्रमुख र वडाध्यक्षले गरे समाचारको खण्डन
बेलका नगरपालिका : उपप्रमुख र वडाध्यक्षले गरे समाचारको खण्डन
बेलका नगरपालिकाका उप्रप्रमुख राजकुमारी चौधरी र वडा नम्बर ४ का अध्यक्ष दीपक दंगालले आफूहरुको चरित्र हत्या हुने गरी समाचार लेखिएको भन्दै विरोध जनाएका छन् । वडाध्यक्ष दंगालसँग अनैतिक सम्बन्ध राखिरहेका बेला रंगेहात फेलापरेको भन्दै उपप्रमुखका श्रीमान शिवराम चौधरीले उनलाई कुटपिट गरेको समाचार न्युज कारोबारमा प्रकाशित भएपछि उनीहरुले समाचारले आफूहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।
वडाध्यक्ष दीपक दंगालले यसरी गरे खण्डन
शुक्रबार बिहान ७ बजे उपप्रमुखले क्रसरको विषयमा छलफल गर्न बोलाएपछि म उहाँलाई लिन उहाँको घर गएको थिएँ । उपप्रमुखलाई लिएर स्कुटरमा नगरपालिकातर्फ आउँदै गर्दा उहाँका श्रीमान शिवरामसँग बाटोमा भेट भयो । उहाँहरुले सामान्य घरायसी कुरा गरेपछि हामी छुट्टियौं । त्यसपछि रामपुरस्थित उपमेयरको कोठामा रहेका दुईवटा छुट्टाछुट्टै खाटमा बसेर हामी क्रसर उद्योगको विषयमा छलफल गर्दै थियौं । त्यही बेला अचानक शिवराम सर आएर उपप्रमुखमाथि हातपात गर्नुभयो । मैले कुरा बुझाउन खोज्दा मैमाथि जाइलाग्नुभयो । ढुंगा टिपेर मलाई समेत हान्न खोजेपछि म भाग्दै गएर प्रहरीलाई खबर गरेको हुँ । उहाँले किन र कसरी त्यस्तो आरोप लगाउनुभयो थाहा भएन ।
०००
उपप्रमुख राजकुमारी चौधरीले पनि वडाध्यक्ष दीपक दंगालले जे भने त्यो नै सही भएको बताइन् । ‘उहाँले एक्कासि कोठाभित्र पसेर ममाथि हातपात गरेको हो,’ उनले भनिन्, ‘तर समाचारले मेरो चरित्र हत्या भएको छ । मलाई मानसिक तनाव भएको छ, म कानुनी उपचारका लागि जान्छु ।’
०००
उपप्रमुखका श्रीमान शिवराम चौधरी–
मैले कोठाभित्र दुवै जनालाई देखेपछि आपत्तिजनक अवस्थामा रहेको आरोप लगाएको सही हो । मैले मादक पदार्थ सेवन गरेर आरोप लगाएँ । गलत भयो । जनतासमक्ष गएका कुराले धेरै नराम्रो लाग्यो । म माफी माग्न चाहन्छु । मबाट गल्ती भयो ।
प्रकाशित समय : २१:५१ बजे



















