कैलालीमा दूध पोखेर र अण्डा फुटाएर विरोध प्रदर्शन
वि.सं.२०७५ साउन २१ सोमवार २२:२०
shares

कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाका लागि आन्दोलित किसान र व्यवसायीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि दूध पोखेका छन् । उनीहरुले कुखुराका अण्डा पनि फुटाएका छन् भने चल्ला छोडेका छन् ।
आइतबार धनगढीमा प्रदर्शन गरेका उनीहरुले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडिको सडकमा दूध पोखेका हुन् भने अण्डा फुटाउँदै कखुराका चल्ला सडकमा छाडेका हुन् । उनीहरुले भेटेरिनरी अस्पताल र विज्ञ केन्द्र कैलालीमा हुनुपर्ने माग गर्दै विभिन्न निकायमा धाउँदा पनि माग सुनुवाइ नगरेको आरोप लगाएका छन् ।
आफूहरुले गरेको मागको विषयमा प्रदेश सरकार उदासीन रहेको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् । संघीय सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा प्रदेश सरकारले ढिलाइ गरेको भेटेरिनरी तथा कृषि संयोजक दिनेश लम्सालले बताए । ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।
संघीय सरकारको मन्त्रिपरिषद्ले पशु अस्पतालका लागि स्थान तोक्न तीन साताअगाडि नै निर्देशन दिएको थियो । यता, प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले भने प्रदेश सरकारलाई त्यसको अधिकार नभएको बताउँदै आएकी छन् ।
साउन ३२ गतेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश सरकारलाई केन्द्र तोक्न अधिकार दिएको छ । पाँचवटा जिल्लामा भएको कर्मचारीको दरबन्दी नौ जिल्लामा बाँड्न सकिने किसानहरुको भनाइ छ ।

























