अस्ट्रेलियामा भाइटीकाको उल्लास : दाजुभाइलाई टीका लगाउन सहर–सहर पुगे दिदीबहिनी
वि.सं.२०८३ कात्तिक २५ बुधवार २०:२३
shares

क्यानबेरा । नेपालमा भाइटीकाको साइत पर्खिरहँदा अस्ट्रेलियामा भने नेपाली समुदायले त्यसअघि नै तिहारको मुख्य पर्व भाइटीका मनाएका छन्। नेपालभन्दा समय अगाडि रहेको अस्ट्रेलियामा स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै दाजुभाइलाई टीका लगाउने क्रम सुरु भएको थियो।
कतिपय परिवारले बिहानै शुभसाइतमा भाइटीका लगाए भने काम र अन्य व्यस्तताका कारण सबैलाई बिहानै जमघट हुन सम्भव भएन। त्यसैले कतिपयले कामबाट फर्किएपछि साँझसम्म पनि टीका लगाएर भाइटीका मनाए।
भाइटीकाको अवसरमा दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्न अस्ट्रेलियाका विभिन्न सहरबीच यात्रा गर्ने नेपालीहरूको अनुभव पनि रोचक देखियो।
एडिलेड निवासी गोमा ढुंगेल आफ्ना जेठा दाजुसँगै क्यानबेरा आइपुगिन्। उनीहरू क्यानबेरामा रहेकी आफ्नी दिदीसँग भाइटीका मनाउन एडिलेडबाट यात्रा गरेर आएका हुन्।
त्यस्तै, शिवा निरौला आफ्ना जेठा दाजुलाई भेट्न ब्रिसबेन पुगिन्। मेलबर्नमा बस्दै आएकी शर्मिका अधिकारी पनि भाइटीका मनाउन आफ्ना भाइलाई भेट्न सिड्नी पुगेकी थिइन्।
नेपालमा जस्तो सार्वजनिक बिदा र पारिवारिक जमघटको सहजता नभए पनि अस्ट्रेलियामा रहेका नेपालीले काम र व्यस्त दैनिकीबीच समय निकालेर भाइटीका मनाएका छन्।
परिवारका सदस्यसँग टीका लगाउन एक सहरबाट अर्को सहरसम्म यात्रा गर्नेहरूको उत्साहले प्रवासमा नेपाली चाडपर्वप्रतिको आत्मीयता र पारिवारिक सम्बन्धलाई थप उजागर गरेको छ। भौगोलिक दूरी टाढा भए पनि भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, सद्भाव र सांस्कृतिक सम्बन्धलाई जोडिरहेको छ।

























