सेयर बजारमा उत्साहजनक वृद्धि
वि.सं.२०७५ साउन ३० बुधवार २१:४५
shares

सेयर बजार परिसूचक (नेप्से) २८ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २८.७३ अंकले बढेर १२०९.७१ अंकमा पुगेको हो ।
सोमबारदेखि बढ्न थालेको बजार तीन दिनमै ४५.४७ अंकले उकालो लागेको छ । सोमबार सेयर बजार १०.४३ अंकले बढेको थियो भने मंगलबार ६.६१ अंकले बढेको थियो ।
सबैभन्दा बढी निर्जीवन बिमा समूह ३.५६ प्रतिशतले उकालो लागेको छ । बैंक, विकास बैंक, जलविद्युत्, लघुवित्त, जीवन बिमा र अन्य समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेका छन् । होटल, वित्त र उत्पादनमूलक समूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेपछि बजार उत्साहजनक रुपमा बढेको हो । कुल १६५ कम्पनीको सेयर कारोबार भएको बजारमा १०१ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

सेयर विश्लेषकहरुले सेयर बजार वृद्धिलाई स्वाभाविक भएको बताएका छन् । ‘कम्पनीहरुले लाभांश घोषणा गर्न थालेपछि छोटो अवधिमा लाभ लिन लगानीकर्ता आकर्षित भएको देखिन्छ,’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले भने, ‘लामो समयदेखि सेयर खरिद गरेर बस्नेहरुले भन्दा अहिले बजार प्रवेश गर्नेहरुले सस्तो मूल्यमा किन्न सक्ने र छिट्टै लाभांश पाउन सक्ने हुँदा बजारमा उत्साह देखिएको हो ।’ गत अार्थिक वर्षको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका कम्पनीहरूले लाभांश घोषणासमेत गर्न थालेका छन् ।
अमेरिकी डलर र क्यानेडियन डलरको मूल्य बढेका बेला घटेको मूल्यको सेयर खरिद गरी विदेशमा बस्ने नेपालीहरुले बढी लाभ लिन सक्ने उनले बताए । ‘डलरको मूल्य बढेका बेला रकम पठाउँदा धेरै रकम नेपाल पुग्छ र धेरै पैसाले घटेको मूल्यको सेयर झन् धेरै खरिद गर्न सकिन्छ,’ विश्लेषक भट्टराईले भने, ‘यसबाट विदेशमा बस्नेले बढी लाभ लिन सक्छन् ।’
नेप्सेसँगै कारोबार रकम पनि दोब्बर बढेको छ । मंगलबार १८ करोड ९५ लाखको सेयर कारोबार भएको बजारमा आज ३६ करोड १ लाखको सेयर किनबेच भएको हो । बढेको बजारमा स्वरोजगार लघुवित्तका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । हिमालयन डिस्टिलरी र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी आर्जन गरे । त्यस्तै, हिमालयन पावर पार्टनर र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढी आम्दानी गरेका छन् ।

























