खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो
वि.सं.२०८३ कात्तिक २९ आइतवार १०:५१
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् ।
महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो ।
आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ ।
नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे ।
‘महाधिवेशन स्थलको रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा बर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।
उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ ।
कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन् । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन् ।
प्रधानमन्त्रीले महाधिवेशनपछि सामाजिक सञ्जालमा टुँडिखेलको क्षतिलाई लिएर टिप्पणी गरेको प्रसङ्गमा सहमहामन्त्री गौतमले त्यसलाई आफ्नो अभियानको कारण नभएको स्पष्ट पारिन् । ‘प्रधानमन्त्रीले के भन्नुभयो भन्नेभन्दा पनि यो स्थानलाई जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भन्ने ठानेर हामी आएका हौँ,’ उनले भनिन् ।
कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतका कारण दुबोलगायतका संरचनामा क्षति पुगेको बताए । महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले बिग्रिएको क्षेत्र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उनले उल्लेख गरे । पुनःस्थापनापछि पनि नियमित सिँचाइ तथा संरक्षणको व्यवस्था गरिने उनको भनाइ छ ।
कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले महाधिवेशनका क्रममा प्रयोग गरिएको सार्वजनिक स्थलमा पुगेको क्षति सुधार गर्नु पार्टीको कर्तव्य भएको बताए । बिग्रिएको दुबोलाई प्राकृतिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यले चितवनबाट दुबो मगाएर पुनःरोपणको काम अघि बढाइएको उनले जानकारी दिए ।
केन्द्रीय सदस्य सीता मिजारले महाधिवेशनका क्रममा भएको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टीले काम गरिरहेको बताइन् । ‘यो राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसले आफैँ दुबो रोप्ने कार्यक्रम गरेको हो । जति क्षति भएको छ, त्यसको परिपूर्ति गर्छौँ भनेर हामीले त्यतिबेलै प्रतिबद्धता जनाएका थियौँ,’ उनले भनिन् ।

























