छठः गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए
वि.सं.२०८३ कात्तिक २९ आइतवार ०९:५३
shares

काठमाडौँ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रुपमा सजाइएको छ ।
छठ पर्वको मु्ख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अघ्र्य दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझै सिँगारिएको हो । छठ घाट एवं छठी माताको मूर्ति सजावटलगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।
गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगत वर्षभन्दा यहाँ आउने छठ व्रतालु यस वर्ष बढेको पनि उनले सुनाए ।
कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाएर व्रतालु बसेका थिए । यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो ।
यसैबीच, वीरगञ्जबाट रासस समाचारदाताले जनाएअनुसार पर्साका छठघाट पनि दुलहीझै सिँगारिएका छन् । यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ ।
घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष रुपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए । छठ व्यवस्थापनका लागि २६ लाख विनियोजन गरिएको उनले बताए ।

























