global ime bank Long Banner Ad

गृहपृष्ठ कृषिलाई उपेक्षा : गाउँमा छैनन् कृषि प्राविधिक

कृषिलाई उपेक्षा : गाउँमा छैनन् कृषि प्राविधिक

कृषिलाई उपेक्षा : गाउँमा छैनन् कृषि प्राविधिक

 

गुल्मीको छत्रकोट गाउँपालिकाको मुख्य विशेषता नै कृषि हो । साविकका हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ र दौँघा गाविस मिलेर बनेको छत्रकोटको २१ हजार चार सय ८१ जनसंख्याका लागि कृषि प्राविधिक भने जम्मा दुई जना छन् ।

जिल्ला कृषि विकास कार्यालयअन्तर्गत कृषि क्षेत्रका दुईजना र पशु क्षेत्रका दुई जना गरी चार कर्मचारी छन् । दुईजना अधिकृतस्तरका कर्मचारी हुन् भने कृषिमा एक र पशुमा एक गरी दुईजना मात्रै कृषि प्राविधिक (जेटीए) छन् ।

छत्रकोट गाउँपालिकाका अनुसार कृषि प्राविधिक शिवप्रसाद बन्जाडेको बढुवा भइसकेको छ । उनी तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट गाउँपालिकामा हाजिर भएका थिए । तर, बढुवापछि विभागमा सरुवा भएपछि उक्त पोस्ट पनि खाली हुँदैछ ।

पशुक्षेत्रमा नायब प्राविधिक सहायक (जेटीए) प्रमोद भट्टराई कार्यरत छन् । यसबाहेक एकजना करार (एक गाउँ एक प्राविधि) अन्तर्गतका महिला कर्मचारी कृषि र पशुक्षेत्रमा कार्यरत छन् । एउटा नायब प्राविधिक कृषि सहायक (नाप्रस) जेटीएले गाउँपालिकाका सबै ६ वटा वडा हेर्नुपर्ने बाध्याता छ । कृषि शाखा अधिकृत बन्जाडे सिंगो गाउँपालिकामा कृषि प्राविधिकको कमी भएको महसुस आफूले पनि गरेको बताउँछन् ।

वडा नम्बर १ का अध्यक्ष धातानन्द भण्डारी कृषि प्राविधिक जिल्लाबाट नै कम संख्यामा खटाएको बताउँछन् । गाउँका व्यावसायिक कृषकलाई सिंगो गाउँपालिकाले नै कृषक प्रोत्साहन रकम वितरण गर्न लागेको जानकारी उनले गराए । गाउँमा अहिले पैंचो पसल प्रालिले गाउँ–गाउँमा जेटीए नियुक्त गरी परिचालन गरेका कारण पनि किसानहरुलाई सहज भएको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

कृषक पेन्सन अभियान जस्तै गरी कृषक प्रोत्साहन रकम किसानलाई प्रदान गर्ने योजना रहेको भण्डारी बताउँछन् । उनी भन्छन्, ‘जुन किसानले ८ लाख ७५ हजार रुपैयाँको कृषिजन्य उत्पादन गरी बिक्री गरेको छ, त्यसलाई प्रतिमहिना एकजना अधिकृतस्तरको कर्मचारीले पाउने तलब प्रदान गर्ने योजना बनाएका छौं ।’

हाल गाउँपालिकामा एक सय ८७ जना किसानले व्यावसायिक रुपमा कृषि तथा पशुपालन क्षेत्रमा काम गरेको तथ्यांक आफूहरुले प्राप्त गरेको भन्दै उनले यसबाट वडा नम्बर १ मा ६७ जना किसानलाई अनुदान प्रदान गर्न लागेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

महिनामा २३ हजार ५ सय रुपैयाँबराबरको रकम किसानलाई प्रोत्साहनको रुपमा प्रतिमहिना प्रदान गर्ने योजना गाउँपालिकाले बनाएको छ । जसको कार्यविधि निर्माणका क्रममा रहेको वडाध्यक्ष भण्डारी बताउँछन् । गाउँपालिकाले किसानलाई विभिन्न वर्ग क, ख र ग मा विभाजन गरी सोहीअनुसार अनुदानलगायतका अन्य सहयोग प्रदान गर्नेगरी कार्ययोजना अगाडि बढाएको छ ।

प्रकाशित समय : ००:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु