त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
वि.सं.२०८३ मंसिर १ मंगलवार ०६:१०
shares

लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।
मुख्यमन्त्री पाण्डेसहित प्रदेशका पूर्वमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङलगायतले सोमबार रङ्गशालाको अवलोकन गरेका हुन । सो अवसरमा मुख्यमन्त्री पाण्डेले रङ्गशालाको पूर्वाधार विकासका लागि तत्काल रु १० लाख उपलब्ध गराउने घोषणा गरेका छन् ।
उनले लमजुङकै प्रतिष्ठित खेल मैदानका रूपमा रहेको त्रिवेणी रङ्गशालालाई व्यवस्थित बनाउन प्रदेश सरकारको ध्यान गएको बताए ।
खेल मैदानको स्तरोन्नति र आवश्यक पूर्वाधार विकास गर्नसके खेलाडी उत्पादन तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन सकिने उनको भनाइ थियो ।
खेलकुदले खेलाडीको प्रतिभा पहिचान र विकाससँगै नागरिकको स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने भएकाले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।
आवश्यक सहयोग उपलब्ध गराउँदै खेलकुद पूर्वाधार निर्माण र विकासमा प्रदेश सरकारले अग्रसरता लिँदै आएको उहाँको भनाइ थियो । प्रदेशका पूर्वमन्त्री एवं त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष पौडेलले रङ्गशालालाई थप व्यवस्थित बनाउन प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।
विगतमा खेलमैदान व्यवस्थापनमा निकै समस्या रहे पनि विभिन्न निकाय र क्षेत्रको सहयोगबाट अहिलेको अवस्थामा आइपुगेको उहाँले उल्लेख गरे । केही सुधार भए पनि रङ्गशालालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले रङ्गशालाको स्तरोन्नति र पूर्वाधार विकासका लागि आवश्यक सहयोग गरिदिन मुख्यमन्त्री तथा प्रदेश सरकारसँग आग्रह गरे ।
बजेट अभावका कारण अपेक्षाअनुसार रङ्गशालालाई व्यवस्थित बनाउन नसकिएको उल्लेख गर्दै उनले यसलाई लमजुङ मात्र नभई गण्डकी प्रदेशकै नमुना रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
उनले रङ्गशालाको पूर्वाधार विकासका लागि विगतदेखि नै प्रदेश सरकारसँग सहयोग माग्दै आएको र आगामी दिनमा पनि आवश्यक पहल जारी राख्ने बताए ।
त्रिवेणी युवा क्लबले हरेक वर्ष आयोजना गर्दै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता जिल्लाकै ठूलो तथा प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा परिचित छ ।
राष्ट्रियस्तरका क्लब तथा खेलाडीको सहभागिता रहने प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि बढाउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । प्रतियोगिताको नियमित आयोजनाले रङ्गशालाको महत्त्व र पूर्वाधार विकासको आवश्यकतालाई थप उजागर गरेको छ ।

























