दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु
वि.सं.२०८३ कात्तिक ३० सोमवार २०:५४
shares

दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीमा भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन ।
प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरबाहिर स्विटवाटरमा गोली लागेर क्षतिग्रस्त भएको एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो । घटनामा मारिएका व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित अनौपचारिक बस्तीको एउटा झुपडीमा गोली लागेका अवस्थामा नौ जनाको शव फेला परेको थियो । आइतबार राति भएको उक्त घटनामा पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
प्रहरीका अनुसार जेफ्सभिलमा मारिनेमा छ पुरुष र तीन महिला छन् । उनीहरूमध्ये बालबालिका पनि थिए वा थिएनन् भन्नेबारे प्रहरीले तत्काल पुष्टि गरेको छैन । घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी एकाइले गरिरहेको छ ।
गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीले यी हत्याहरू गत वर्ष साउल्सभिल नजिकैको अर्को अनौपचारिक बस्तीमा भएको गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताउनुभएको छ । उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
एमथोम्बेनीले भन्नुभयो, “यी घटनाहरू आपसमा जोडिएका हुन सक्छन् । बदलाको भावनाले गराइएको आक्रमण हुन सक्ने सम्भावनालाई पनि हामीले नकार्न सक्दैनौँ ।”
दक्षिण अफ्रिकामा पछिल्लो एक वर्षयता आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटनाहरू बढेका छन् ।
गत सेप्टेम्बरमा तटीय सहर डर्बननजिकैको एक गरिब बस्तीमा तीन जना बन्दुकधारीले एउटा घरमा प्रवेश गरी पार्टीमा सहभागीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । उक्त घटनामा गर्भवती महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा बन्दुकधारीहरूले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई पनि आपराधिक गिरोहसँग जोडेको थियो ।
गत वर्ष डिसेम्बरमा दुई साताको अन्तरालमा भएका दुई सामूहिक गोलीकाण्डमा २१ जनाको ज्यान गएको थियो । ती घटनामा पनि धेरै बन्दुकधारी संलग्न थिए ।

























