विमानस्थलबाट ६३५।९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
वि.सं.२०८३ कात्तिक ३० सोमवार २१:२२
shares
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ्ग रहेका विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
झान हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा निजले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो । उक्त पदार्थको तौल ६३५ दशमलव ९६ ग्राम रहेको प्रहरीले जनाएको छ ।
भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरी झानलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























