global ime bank Long Banner Ad

गृहपृष्ठ रेल बहस : काठमाडौं महानगर भन्छ- मोनो, विज्ञ भन्छन्- मेट्रो

रेल बहस : काठमाडौं महानगर भन्छ- मोनो, विज्ञ भन्छन्- मेट्रो

रेल बहस : काठमाडौं महानगर भन्छ- मोनो, विज्ञ भन्छन्- मेट्रो

काठमाडौं उपत्यकामा मोनो कि मेट्रोरेल भन्ने विषय फेरि उत्कर्षमा पुगेको छ । चीनको निर्माण कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी)ले तीन वर्षभित्र मोनोरेल कुदाउन सकिने गरी सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएपछि ‘मोनो कि मेट्रो’को बहस चर्किएको हो ।

विज्ञहरुले काठमाडौं उपत्यकामा भौगोलिक अवस्थाअनुसार पनि मोनोरेल उपयुक्त नहुने र खर्चका हिसाबले पनि ‘सेतो हात्ती’ सावित हुने तर्क गरिरहेका बेला महानगरपालिका भने आफ्नै हिसाबले अघि बढिरहेको छ ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको नीति तथा कार्यक्रममै मोनो र मेट्रोरेलको योजना राखेका थिए । त्यतिबेलादेखि नै धेरैले मोनो रेलभन्दा मेट्रोरेल उपयुक्त हुने सुझाव दिएका थिए । तर, महानगरपालिका भने रेल निर्माण कम्पनीहरुबाट जस्तो प्रस्ताव आयो, त्यसैका भरमा विज्ञहरुका सुझावलाई बेवास्ता गर्दै अघि बढिरहेको छ ।

दुई ट्रयाक चाहिने, धेरै ठाउँ ओगट्ने, जमिनमुनि सुरुङ खनेर कुदाउनुपर्ने र अर्बौं लगानी लाग्ने मोनोरेल नेपालका लागि ‘सेतो हात्ती’सरह हुने विज्ञहरु बताइरहेका छन् । उनीहरुले सामाजिक सञ्जालदेखि मिडियाबाट पनि पटक–पटक यस विषयमा गम्भीर ढंगले आवाज उठाइरहेका छन् । मोनोरेलभन्दा तुलनात्मक रुपमा मेट्रोरेल सस्तो र सजिलो हुने उनीहरुको सुझाव छ ।

अध्ययन प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । ‘मोनोको तुलनामा मेट्रोरेल गुडाउन समय धेरै लाग्छ । यसले मेट्रोरेलले भन्दा कम ध्वनि निकाल्छ । तर, काठमाडौं जस्तो भूबनोट र पिल्लर ट्रयाक बनाउँदा आइपर्ने मोड अनि भूकम्प जस्ता जोखिम मोनोरेलका लागि चुनौती हुन्छ,’ पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य भन्छन् ।

मोनोरेल बिजुलीबाट चल्ले भए पनि मेट्रो रेलको भन्दा कम गति हुन्छ । मोनोरेलमा डिब्बाको संख्याअनुसार ५० देखि ४ सय जनासम्म एकैपटक यात्रा गर्न सकिन्छ । तर, राजधानीमा लोकल यात्रु बढी हुने हुँदा यो रेल प्रभावकारी नहुने उनको सुझाव छ ।

पूर्वाधार विज्ञ आचार्य मास ट्रान्जिट प्रविधिमध्ये मोनोरेल सामान्यतः असफल प्रविधि भएकाले नेपालमा पनि सफल नहुने दाबी गर्छन् । राजधानीबासीका लागि मोनोरेल ‘सेतो हात्ती’मात्र हुने चिन्ता व्यक्त गर्दै उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय अनुभवसमेतले देखाउँछ कि मोनोरेल असफल छ । रिङरोडको हकमा पनि यो अनुपयुक्त प्रविधि हो । कार्यान्वयनको निर्णयमा पुग्नुअघि महानरपालिकाले थप अध्ययन गर्नु राम्रो हुन्छ ।’

विकासविद नवराज पन्त पनि मोनोरेल द्रुतगतिका लागि भएकाले काठमाडौं जस्तो ठाउँमा उपयुक्त नहुने बताउँछन् । मोनोरेलमा क्याबिन धेरै नहुने भएकाले महँगो हुने उनको भनाइ छ । ‘अहिलेका लागि मेट्रो रेल ठीक, प्रतिव्यक्ति आय बढेपछि मोनोरेल चाहिन्छ,’ उनी भन्छन्, ‘सांघाईमा दुबै रेलको अनुभव गर्दा भाडा मोनोरेलमा ८ मिनेट चढेको ५ सय ४ युआन तिरियो, त्यही रुटमा मेट्रो चढ्दा ४५ मिनेटको १४ युआनमात्र तिरियो ।’

बुद्धिजीवीहरु पनि महानगरपालिकाले पूर्वाधार विज्ञहरुको सुझावलाई मनन गर्नुपर्ने बताउँछन् । विज्ञहरुको सुझावलाई बेवास्ता गर्दै महानगर अघि बढ्दा दीर्घकालमा आफैंलाई हानी हुने उनीहरुको सुझाव छ । विश्वबाटै विस्थापित हुँदै गएको ‘मोनोरेल’ भन्दा ‘मेट्रोरेल’ उपयुक्त हुने सुझाव विज्ञहरुले दिइरहँदा महानगरपालिकाले त्यसलाई नजरअन्दाज गर्न नहुने विश्लेषक आनन्दराम पौडेल बताउँछन् । ‘विज्ञहरुले विश्वबाटै विस्थापित हुँदै गएको ‘मोनोरेल’ भन्दा ‘मेट्रोरेल’ उपयुक्त हुन्छ भनिरहँदा महानगरपालिकाले निर्णयमा समयमै पुनर्विचार गर्नुपर्छ,’ उनी भन्छन् ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु