गृहपृष्ठ चितवन राष्ट्रिय निकुञ्जमा किन घटे त बाघ ?
चितवन राष्ट्रिय निकुञ्जमा किन घटे त बाघ ?
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्यामा कमी देखिएपछि बाघ र गैँडाको संख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिए । खड्काका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ । जसमा विदेशी विशेषज्ञको समेत सहभागिता रहने छ । हालैको प्रतिवेदनअनुसार चितवन राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा २७ बाघ घटेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किलोमिटरमा फैलिएको छ ।
सन् २०१३ को अनुगमनमा निकुञ्जमा बाघको संख्या १२० थियो । यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्यअनुसार अघि बढ्न क्षमताको अध्ययन जरुरी रहेको निकुञ्जको भनाइ को भनाइ छ ।
नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैँडाको सबैभन्दा ठूलो वासस्थान हो । पछिल्लो गणनामा निकुञ्जमा ६०५ गैँडा रहेको छ । हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान रहेको निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा केही गैँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई समेत दुई जोडी गैँडा उपहार दिइएको छ ।
अध्ययनका क्रममा बाघ, गैँडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ ।
प्रकाशित समय : १७:२४ बजे



















