गृहपृष्ठ फर्निचरको अभावमा भुइँमै बसेर पढ्छन् बालबालिका
फर्निचरको अभावमा भुइँमै बसेर पढ्छन् बालबालिका
म्याग्दीस्थित एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।
गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले जानकारी दिए ।
‘अहिले स्थानीयबासीको घरमा पठनपाठन सञ्चालन गरेका छौं, फर्निचर नहुँदा समस्या भएको छ,’ उहाँले भन्नुभयो । अहिले म्याट्रेस भुइँमा ओछ्याएर विद्यार्थी बस्ने व्यवस्था गरिएको छ । फर्निचर नहुँदा विद्यार्थीलाई लेखपढ गर्न अप्ठ्यारो भएको छ । कालीगण्डकीले विद्यालयको ६ कोठे भवन बगाउँदा २५ लाख बराबरको क्षति भएको राम्जालीले जानकारी दिए । बाढीका कारण कोप्चेपानीका १० परिवार विस्थापित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उक्त विद्यालयलाई ५० हजार सहयोग गरेका छन् । उनले विद्यालय भवन पुनःनिर्माणका लागि सो सहयोग गरेका हुन् । अध्यक्ष पुनले भवन पुनःनिर्माणका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको बताए ।
उनले आफ्नो पारिश्रमिकवापतको रकम कोषमा जम्मा गरेर गरीब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै आएका छन् ।
ज्यान गुमाएका परिवारलाई सहयोग
म्याग्दी प्रवासी नेपाली सङघ (मोना) दक्षिण कोरियाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका एक युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघले मंगला गाउँपालिका–५ मुसरबारीका थमबहादुर थापाको परिवारलाई मंगलबार दुई लाख ६५ हजार सहयोग गरेको हो । थापाको दक्षिण कोरियाको अन्सान शहरमा दुई महिनाअघि दुर्घटनामा परी निधन भएको थियो ।
दक्षिण कोरियाबाट पठाइएको सो रकम मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र मालिका–६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले मृतक थापाका परिवारलाई हस्तान्तरण गरेका हुन् । रासस ।
प्रकाशित समय : १५:०५ बजे



















