गृहपृष्ठ राज ब्रुअरीको बदमासी : ट्रेडमार्क स्वीकृत नगरी बियर उत्पादन
राज ब्रुअरीको बदमासी : ट्रेडमार्क स्वीकृत नगरी बियर उत्पादन
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीले ट्रेडमार्क स्वीकृत नगरी बियर उत्पादन तथा बिक्री-वितरण गरेको तथ्य खुलेको छ । बियरमा कानुनले बन्देज लगाएको ‘नेपालको राष्ट्रिय झण्डा’को लोगो राखेर ‘गम्भीर त्रुटी’ गरेको ब्रुअरीले ट्रेडमार्क स्वीकृत नगरी उत्पादन बेचेर अर्काे लापर्बाही गरेको हो ।
२०२२ सालदेखि कार्यान्वयनमा रहेको ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ उल्लंघन गर्दै राज ब्रुअरीले अवैधानिक रुपमा नमस्ते बियर बेचिरहेको छ । कुनै पनि वस्तु वा उत्पादन बजारमा ल्याउनुअघि उद्योग विभागमा दर्ता गरेर अनिवार्य ट्रेडमार्क स्वीकृति लिनुपर्छ ।
राज ब्रुअरीले नमस्ते ब्रान्डको बियर उत्पादन गर्न उद्योग विभागको ट्रेडमार्क शाखामा तीनखालका गुणस्तर दर्ता छन् । नमस्ते बियर स्ट्रङ, क्लासिक, लाइट गरी तीन गुणस्तरमा उत्पादन गर्ने गरी ट्रेडमार्कमा दर्ता छ । तर, राज ब्रुअरीले बजारमा यीबाहेक अन्य गुणस्तरको बियर पनि बेचिरहेको छ, जसको ट्रेडमार्क दर्ता नै लिइएको छैन ।
राज ब्रुअरीले उत्पादन गरी बेचिरहेको प्रिमियम लेबलको बियर ट्रेडमार्क मान्यताप्राप्त नरहेको विभागको टेड्रमार्क शाखाका निर्देशक नोखबहादुर बस्यालले जानकारी दिए । ‘रक्सी उत्पादन तथा बिक्री-वितरणजस्तो संवेदनशील विषयमा गरिनुपर्ने प्रक्रियामा समेत लापर्बाही गर्ने उद्योगलाई कारबाही गर्छौं,’ बस्यालले भने, ‘त्यसको अनुगमनका लागि विभागको छुट्टै शाखा छ, त्यसले तीव्र काम अघि बढाउँदै छ ।’
ट्रेडमार्क ऐन अटेर गर्नेलाई के कारबाही हुन्छ ?
‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ मा सो ऐन उल्लंघन गरेबापत उसका सबै उत्पादन सामग्री जफत हुने उल्लेख छ । सरकारी निकायले कानुनसम्मत् कारबाही गर्ने हो भने राज ब्रुअरीले उत्पादन गरेको प्रिमियम गुणस्तरको नमस्ते बियर सबै जफत गर्नुपर्ने हुन्छ ।
पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १५ मा ‘कसुरसँग सम्बन्धित सबै चिज वस्तु जफत हुनेछ’ भनिएको छ । यस्तै पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ को दफा ११ मा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । ब्रुअरीले ट्रेडमार्क ऐन उल्लंघनमात्र नभई राष्ट्रिय झण्डाको दुरुपयोगसमेत गरेको छ । त्यसबारेमा कानुनमा छुट्टै सजाय तोकिएको छ ।
के भन्छ राज ब्रुअरी ?
ट्रेडमार्क ऐन उल्लंघन गर्दै बजारमा उत्पादन बेच्ने राज ब्रुअरीले भने अरु प्रक्रिया सबै पूरा भएकाले उत्पादन बजारमा पठाएको बताएको छ । अरु गुणस्तरका उत्पादनमा पनि यही लोगो स्वीकृत भएकाले प्रिमियममा प्रयोग गरिएको उसको प्रस्टोक्ति छ । राज ब्रुअरीका प्रमुख कानुन अधिकृत गुरु अधिकारीले न्युज कारोबारसँग भने, ‘हामीले ट्रेडमार्कका लागि निवेदन दिएका छौं, प्रक्रियागत ढंगबाट त्यो स्वीकृत हुन बाँकी छ, हाम्रा अरु गुणस्तरका उत्पादनमा पनि यही लोगो स्वीकृत भएकाले प्रिमियममा पनि प्रयोग गरिएको हो ।’
कुन-कुन गुणस्तर दर्ता छन् ?
नमस्ते ब्रान्डकै अरु तीनवटा लेभल भने विधिवत् दर्ता रहेको उद्योग विभागका निर्देशक नोखबहादुर बस्यालले बताए । उद्योग विभागको ट्रेडमार्क दर्ता नम्बर ६४४८९ मा नमस्ते ब्रान्डको स्ट्रङ बियर, दर्ता नम्बर ६४४९० मा क्लासिक बियर र दर्ता नम्बर ६४४९१ मा लाइट बियर दर्ता छ । तर, नमस्ते ब्रान्डको प्रिमियम लेबलको बियरले ट्रेडमार्क स्वीकृति पाएको छैन ।

राज ब्रुअरीले जर्मनी बियर वार्सटाइनसँग सहकार्य गर्दै केही महिनाअघिबाट ‘नमस्ते बियर’ उत्पादन सुरु गरेको हो । बढी प्रचलित भएकाले राष्ट्रिय झण्डाबाटै रक्सीको विज्ञापन होस् भन्ने उद्देश्यले दुरुपयोग गरिएको हो ।
चर्चित उद्योगीमध्येका राजबहादुर शाह राज ब्रुअरीका मालिक हुन् । उद्योगी शाहले देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा रक्सीको विज्ञापनमा दुरुपयोग गरेको भन्दै आलोचना खेपिरहेका छन् ।
यी समाचार पनि पढ्नुहोस्
पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा
राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योग विभागकै संलग्नता
स्वीकृत पेटेन्ट डिजाइनमा तोडमोड गरी राष्ट्रिय झण्डाको दुरुपयोग
राज ब्रुअरीसामु नियामक नै निरीह
प्रकाशित समय : १९:३३ बजे



















