गृहपृष्ठ गिँदेरी पुल दसैँपछि बनाउन थाल्छौँ : ठेकेदार (अन्तर्वार्तासहित)
गिँदेरी पुल दसैँपछि बनाउन थाल्छौँ : ठेकेदार (अन्तर्वार्तासहित)
उदयपुरको बेलका नगरपालिका ३ मा निर्माणधीन गिँदेरी खोलाको पुल निर्माण कार्यले दसैँलगत्तै निरन्तरता पाउने भएको छ । रमान–मृत सञ्जीवनीका सञ्चालक गौरीप्रसाद उप्रतीले दसैँलगत्तै निर्माण कार्यलाई निरन्तरता दिने बताएका हुन् । गिँदेरी खोलामा निर्माणाधीन पुलमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको र अब नबनाइ भाग्न खोजेको बेलकाबासीको गुनासो आएपछि न्युज कारोबारका लागि नवराज कुँवरले मृत सञ्जीवनीका सञ्चालक गौरीप्रसाद उप्रती र डिभिजन सडक कार्यालय लहानका ईन्जिनीयर सोभतलाल ठाकुरसँग संक्षिप्त कुराकानी गरेका छन् ।
सबैभन्दा पहिला ठेकेदार उप्रेतीसँग गरिएको कुराकानी ।
ठेक्दार सा’ब गिँदेरी पुल बनाउँदा बनाउँदै किन छाड्नुभएको ?
कहाँ छाडेको छ ? दुई/तीन करोड बराबरको काम त गरेकै छौँ नि ! निर्माण सम्झौता अनुसार म्याद सकिएकाले केही समय काम स्थगित भएको हो ।
करिब पाँच वर्षमा जम्मा २० प्रतिशतमात्रै काम, यो लाजमर्दो भएन ?
हामीले काम थालेलगत्तै विभिन्न बाधा आए । मधेस आन्दोलन भए, कहिले स्थानीयबासीकै कारण ढिलाइ भयो । केही ढिलाइ भएकै हो, त्यसका केही प्राविधिक समस्या पनि थिए । तर, कामै नगरेको वा गर्दागर्दै भागेको होइन ।
पप्पु कन्स्ट्रक्सनसँग जोइन्ट भेन्चर भएकाले पुल बन्दैन कि भन्ने आशंका छ नि !
अहिले विवाद पप्पुकै कारण आएको हो । मैले त काम गरिरहेको छु । विकास निर्माणको काममा लापरवाही गर्नुहुँदैन, यो मेरो मान्यता हो ।
के काम गर्नुभो खै, अहिलेसम्म फाउन्डेशनमै अड्कीनुभा’छ ?
भुक्तानीअनुसार काम भएको छ । तपाईंलाई थाहै होला, गत असारमा एक वर्षे म्याद गुज्रिएको छ । अर्को म्याद नथपी काम गर्ने कुरा हुँदैन । पुनः एक वर्ष म्याद थप गर्न निवेदन दिएको छु, स्वीकृत हुनेबित्तिकै काम थाल्छु ।
डिभिजन कार्यालय लहानले त म्याद थप गर्दा बिलसँगै प्रतिबद्धता पनि माग्ने भन्दै छ नि !
होइन, हामीले कामै नगर्ने वा त्यतिकै पैसा पचाउने होइन । काम गर्ने हो । काम गर्नुपर्छ भन्दा हामीले नाइनास्ती गर्ने कुरा आउँदैन ।
म्याद थप भयो भने कहिलेदेखि सुरु गर्नुहुन्छ काम ?
दसैंलगत्तै थाल्छु । मेसिनहरु त अहिलेदेखि नै पठाउन थालिसकेको छु । गएर बस्दै गर्छन् । दसैंलगत्तै धमाधम काम थाल्छु ।
हुन त हालै सम्पन्न निर्माण व्यवसायी महासंघको निर्वाचनमा पराजित हुनुभएको छ क्यारे ! पूर्वतिर जाने योजना छैन ?
हारियो । यस्तै हो, कहिले हार्ने कहिले जित्ने । पूर्वतिर म अहिले जान्नँ । मेरा मान्छे उतै छन् । उनीहरुलाई अर्हाएको छु । त्यताको काम उनीहरुले नै गरिहाल्छन् नि !
यसैगरी डिभिजन सडक कार्यालयका ईन्जिनीयर सोभितलाल ठाकुरसँग पनि नवराज कुँवरले संक्षिप्त कुराकानी गरेका छन् ।
बेलका नगरपालिकामा निर्माणाधीन गिँदेरी पुल निर्माणमा यत्रो लापरवाही हुँदा तपाईंहरु किन कानमा तेल हालेर बस्नुभएको ?
हामी कानमा तेल हालेर बसेका छैनौँ । हामीले त पटक–पटक ताकेदा गरेका छौँ । के कति काम भयो भनेर हामीले अनुगमन गरेका छौँ । निर्माण कम्पनीलाई पत्रमार्फत स्पष्टिकरण मागेका छौँ ।
खोइ त तपाईंहरुको निर्देशन, ताकेता केही काम लाग्यो त ?
हेर्नुस्, यो समस्या देशभरीकै हो । तर, हामीले दिएका निर्देशन पालना भएनन् भनेर निराश भएर बस्दैनौँ । अब समय थप गर्दा हामी ती निर्देशन पालना नहुनुका कारण सोध्ने छौँ । अब काम लाग्नेछ ।
अनुगमन पनि गर्ने गरेका छौँ भन्नुभो, अहिलेसम्म कति प्रतिशत काम भएको छ ?
अहिलेसम्म त्यही १८/२० प्रतिशत काम भएको छ ।
भुक्तानी कति दिनुभयो ?
गत आर्थिक वर्ष २०७४/०७५ मा १ करोड जति भुक्तानी दिएको हो । चालू आर्थिक वर्षमा पनि १ करोड १६ लाख बढी दिइएको छ । जम्मा २ करोड १६ लाखभन्दा बढी भुक्तानी भइसकेको छ ।
तर, निर्माण कम्पनी त लापत्ता छ, के हुन्छ अब काम ?
उहाँहरुसँग हामी सम्पर्क गरिरहेका छौँ । मृत सञ्जीवनीका गौरी उप्रतीजीले म आउँछु भन्नुभाको छ । अब म्याद थप गर्दा हामी संयमता अपनाउँछौँ ।
कस्तो संयमता ?
म्याद थप गर्दा बिलसँगै अब हामी प्रतिबद्धता पनि माग्छौँ । काम फटाफट हुनुपर्यो । कुनै बाहानाबाजी गर्नु भएन । पाएको म्यादमा काम सक्नुपर्यो ।
०७१ सालमा शिलान्यास भएको गिँदेरी पुल निर्माणको काम पाँच वर्ष लागिसक्दा पनि फाउन्डेशनमै अड्कीएको छ ।
प्रकाशित समय : १९:२२ बजे

















