गृहपृष्ठ प्रेस युनियनका ४२ सदस्यको सामूहिक राजीनामा
प्रेस युनियनका ४२ सदस्यको सामूहिक राजीनामा
नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियन मोरङका ४२ सदस्यले राजीनामा दिएका छन् । प्रेस युनियन नेतृत्व चयनमा विवाद बढेपछि जिल्ला अधिवेशनको मुखैमा भोजराज बस्नेत नेतृत्वमा पूर्वी मोरङका ४२ सदस्यहरुले सामूहिक रुपमा बिहीबार राजीनामा दिएका हुन् ।
प्रेस युनियन मोरङको शुक्रवारबाट विराटनगरमा हुने जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । प्रेस युनियनको जिल्ला सभापतिमा कुमार लुर्इँटेल र भोजराज बस्नेतले दाबेदारी प्रस्तुत गरेका छन् । लुईँटेल वर्तमान कार्यसमितका उपसभापति हुन् भने बस्नेत गत अधिवेशनमा सभापतिमा मीनकुमार नवोदितसँग २ मतले पराजित भएका थिए ।
लुईटेललाई डेढ बर्ष अघि पत्रकार महासंघ मोरङको सचिवमा उठाउने तयारी गरे पनि अन्तिम समयमा प्रेस युनियनले ब्याक गराएको थियो । पछिल्लो समय विराटनगरबाट पत्रकारितामा सकृय रहेका लुईँटेल यसपटक सभापतिबाट ब्याक नहुने बताउँछन् । पत्रकार महासंघ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई अध्यक्षमा उठाउने बेला भोजराज बस्नेतलाई प्रेस युनियनको सभापतिको जिम्मेवारी दिने भद्र सहमति भएको तर सहमति कार्यान्वयन गर्ने अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए ।
जिल्लाको नेतृत्व सदरमुकामबाहिर दिने सहमति भएको तर अहिले विराटनगरमा नै राख्ने षडयन्त्र भएको बस्नेतको आरोप छ । राजीनामा दिनेमा बस्नेतसहित दिनेश गिरी, राजु बस्नेत, केदार अधिकारी, सञ्जय गुरुङ, रेखा गुरुङ, अनु निरौला, दिपा बिष्ट, बबिता राई, सञ्जय राई, डम्बर बिक, भुवन कार्की, अनिल बराल, हिमाशुं राय, विवेक मिश्र, गणेश पोखरेल, गोपाल काफ्ले र भिमराज अधिकारी, हरि कोइराला, रुपेन्द्र शेर्मा, तेजन खडका, दुर्गाप्रसाद खतिवडा, प्रशान्त निरौला, किशोर श्रेष्ठलगायत छन् । यता, युनियनका सभापति नबोदितले भने नेतृत्वका लागि सहमतिको प्रयास भईरहेको बताएका छन । दुवै उम्मेदवारलाई आधा–आधा कार्यकाल दिने गरी सहमति जुटाउने उनले बताए ।
प्रकाशित समय : १९:३२ बजे

















