बालौटेमा क्षतिग्रस्त सडक करिब दुई महिनापछि मर्मत सुरु
वि.सं.२०८३ मंसिर ६ आइतवार १६:४२
shares

म्याग्दी । म्याग्दी नदीको बाढीले कटान गरेर मालिका गाउँपालिका-६ बालौटेमा अवरुद्ध बनाएको बेनी-दरवाङ सडक करिब दुई महिनापछि मर्मत थालिएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा)मानिएको बेनी-दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढाएको थियो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको करिब १०० मिटर सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको छ ।
पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको साझेदारीमा सडक मर्मतको काम थालिएको हो । पूर्वाधार विकास कार्यालयको प्रक्रियागत ढिलासुस्ती, कटान नियन्त्रण तथा बस्ती संरक्षणको सुनिश्चितता हुनुपर्ने दुखुबासीको माग छ । पूर्वाधार विकास कार्यालयले भने सडक मर्मतका लागि ग्यावीयन पर्खाल निर्माण गर्ने ढुङ्गा जुटाउन समस्या हुँदा काममा ढिलाइ भएको जनाएको छ ।
अस्थायी रूपमा सडक मर्मतका लागि २५ लाख बजेट उपलब्ध गराएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नन्दप्रसाद न्यौपानेले कात्तिक तेस्रो साता पहिरो प्रभावित सडकको निरिक्षण गरी नदी नियन्त्रण र बस्ती संरक्षणका लागि आवश्यक पर्ने थप दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि पूर्वाधार विकास कार्यालयले प्रक्रिया अघि बढाएको थियो ।
तिहारअघि डोजर परिचालन गरेर म्याग्दी नदीलाई डाइभर्सन गराएपनि बालौटेको छिमेकी सहश्रधाराका बासिन्दाले ग्यावीयन जाली भर्न आवश्यक पर्ने ढुङ्गाको स्रोतमा अवरोध गरेकाले अपेक्षाकृत काम हुन नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक मर्मतलाई तीव्रता दिनका लागि ढुङ्गाको स्रोतको व्यवस्था मिलाउन मालिका गाउँपालिकासँग समन्वय गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उनले बताए ।
मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गाहरू जलविद्युत् आयोजनाको डोजर र ढुवानीका साधन परिचालन गरी कार्यालयले ग्यावीयन जाली भरेर अस्थायी रूपमा सडक मर्मत गर्ने सहमति भएको थियो । म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी-१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत् अयोजनाले साझेदारी गरेर सडक मर्मतमा उपकरण परिचालन गरेका छन् ।
साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पार हुने पर्याप्त ठाउँ छैन । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छ वटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनहरुको चाप पनि यो सडकलाई पर्दछ ।

























