global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रसंघको महासभामा नेपालको कूटनीतिक कमजोरी

राष्ट्रसंघको महासभामा नेपालको कूटनीतिक कमजोरी

राष्ट्रसंघको महासभामा नेपालको कूटनीतिक कमजोरी

संयुक्त राष्ट्रसंघको महासभाको ७३ औँ अधिवेशनमा भाग लिन गएको नेपाली टोलीले धेरै कूटनीतिक गल्ती गरेको छ । झण्डादेखि प्रधानमन्त्री केपी शर्मा ओलीको परिचयपत्रसमेत उल्टो गरी राख्दै परराष्ट्र मन्त्रालयका अधिकारीले अस्वाभाविक त्रुटी गरेका हुन् ।

दुर्इ साता लामो अमेरिका भ्रमणमा प्रधानमन्त्री ओलीसँग २१ जनाको जम्बो टोली गएको छ । त्यससँगै संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूतदेखि सयौं जना कूटनीतिक निकायका अधिकारीले तयारी गरेको कार्यक्रममा कूटनीतिक कमजोरी देखिनुलार्इ अस्वाभाविक मानिएको छ ।

असोज ९ गतेमा प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको थियो । भेटको तालिका पहिल्यै सार्वजनिक भएको थियो भने भेटको तयारी पनि मिलाइएको थियो । तर, जब भेटवार्ताको क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी जस्टिन सिटमा बसे तब ठूलो कूटनीतिक त्रुटी देखियो ।

नेपालको परराष्ट्र अधिकारी तथा त्यहाँका कूटनीतिक नियोगका नेपाली प्रतिनिधिको कमजोरीका कारण प्रधानमन्त्री ओली क्यानडाका प्रधानमन्त्री बस्नुपर्ने कुर्सीमा बसे । आफ्नो कुर्सीमा ओली बसेपछि जस्टिन पनि नेपालको कुर्सीमा बस्न बाध्य भए । दुईपक्षीय हस्ताक्षर गर्नेसम्मको कार्यक्रममा प्रधानमन्त्री बसेको तर्फ क्यनाडाको झण्डा थियो भने क्यानडाका प्रधानमन्त्री बसेको पट्टि नेपालको झण्डा थियो । कूटनीतिक अभ्यासमा आ-आफ्नो देशको झण्डापट्टि सोही देशका प्रतिनिधि बस्ने प्रचलन छ ।


त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभाको ७३ औँ अधिवेशनमा सहभागी हुँदा पनि प्रधानमन्त्री ओलीको परिचयपत्र उल्टो झुण्डाइएको थियो । थुप्रै कूटनीतिक अधिकारी तथा शिष्टाचार महापाल उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्रीको नाम र तस्बिर रहेको भाग छोपिएको र पछाडिको खाली भाग देखिएको थियो । संयुक्त राष्ट्र संघको कार्यक्रम भएकाले विश्वभर पुग्ने सो तस्बिरले नेपालको फितलो कूटनीति भन्दै सामािजक सञ्जालमा समेत आलोचना भयो ।


यी गल्ती भएपछि नेपाली टोलीले गल्ती सुधार्ने प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसँग र नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न गरिएको कार्यक्रममा भने झण्डालाई सही रुपमा प्रयोग गरिएको छ । बिहीबार संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा नेपालको झण्डातर्फ प्रधानमन्त्री ओली र बेलायतको झण्डातर्फ बेलायती प्रधानमन्त्री टेरिजा मेलाई देख्न सकिन्छ ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने क्रममा जुन देशको झण्डा छ त्यतैपट्टि सोही देशका प्रतिनिधि छन् ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले र उनी भन्दा तल्ला तहका धेरै कर्मचारीले पहिल्यैदेखि तयारी थालिसकेका थिए । यससँगै परराष्ट्रमन्त्री ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीसमेत कूटनीतिक विषयका थुप्रै जानकार सहभागी भएको कार्यक्रममै झण्डादेखि प्रधानमन्त्रीले लगाएको परिचयपत्रसमेत उल्टो हुनुलाई स्वाभाविक मान्न नसकिने जानकारहरु बताउँछन् ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु