global ime bank Long Banner Ad

गृहपृष्ठ सैन्य अभ्यासमा नेपाल सहभागी नभएकोमा भारतको असन्तुष्टि

सैन्य अभ्यासमा नेपाल सहभागी नभएकोमा भारतको असन्तुष्टि

सैन्य अभ्यासमा नेपाल सहभागी नभएकोमा भारतको असन्तुष्टि

भारतीय सेनाप्रमुख विपिन रावतले नेपाल र भुटान भारततर्फ झुक्नैपर्ने बताएका छन् । नेपाल–चीन सम्बन्धलाई ‘गठबन्धन’को संज्ञा दिँदै उनले सैन्य अभ्यासमा नेपाली सहभागिता नभएकोमा खुलेरै असन्तुष्टी राखे ।

रावतले नेपाल र चीनबीचको ‘गठबन्धन’ स्थायी नहुने दावी गर्दै छिट्टै सम्बन्ध विग्रने जिकिर गरे । बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास समापनको क्रममा भारतीय सेना प्रमुख रावतले नेपालको चीन तर्फको झुकाव अस्थायी हुने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘माइलेक्स एटिन’ नाम दिइएको पूर्णेमा भएको सैन्य अभ्यासको समापन समारोहको साइडलाइनमा आइतबार रावतले ‘भूगोलका कारण पनि नेपाल भारतसँग झुक्न बाध्य हुने’ बताएका हुन् ।

नेपालले बिमस्टेक सैन्य अभ्यासमा सहभागीता नजनाएको विषयमा सोधिएको प्रश्नमा रावतले ‘नेपाल र भुटान जस्ता देशहरुले भूगोलका कारण भारततर्फ ढल्किनैपर्छ’ भनेका भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।

भारतीय सञ्चारमाधयमहरुले बिमस्टेक सैन्य अभ्यासमा नेपालले अन्तिम क्षणमा आएर सहभागी हुन नसक्ने निर्णय चीनको दबाबमा गरेको विश्लेषण गरिरहेका छन् । यही सन्दर्भमा भारतीय सेना प्रमुखले समेत नेपाली सेनाको सहभागिता नभएकोमा चर्काे असन्तुष्टि जनाएका हुन् ।

भारतीय सञ्चारमाध्यम ‘इन्डियन ऐक्सप्रेस’ले नेपाल र भुटान दुबै मुलुकका लागि चीनसँगको झुकाव भौगोलिक कारणले अनुकूल नरहेको बताएका लेखिएको छ । ‘हामी हाम्रा छिमेकीहरूसँग सम्बन्ध सुदृढ गरिरहेका छौं । हामी ठूलो देश हौं, यदि हामीले त्यसको नेतृत्व लियौं भने अरुले पनि त्यसलाई पछ्याउँछन, अहिले नेपाल र भुटान चीनसँग लागे पनि पछि हामीकहाँ आउनैपर्छ,’ सेना प्रमुख रावतको भनाई उदृत गर्दै इन्डियन एक्प्रेसले लेखेको छ ।

रावतले नेपाल र चीनबीचको सम्बन्धलाई पाकिस्तान र अमेरिकाबीचको सम्बन्धसँग तुलना गरेको ‘द टाइम्स अफ इन्डिया’ले लेखेको छ । पाकिस्तान र अमेरिकाबीच पहिला सुमधुर रहेको समबन्ध अहिले द्वन्द्वमा परिणत रहेको भन्दै उनले नेपाल चीनबीच सम्बनध पछि छिट्टै विग्रने जिकिर गरे । ‘नेपाल चीनबीचको सम्बन्ध अमेरिका–पाकिस्तानबीचको जस्तै हो, पहिलो भाई–भाई अहिले शत्रु–शत्रुबीचको जस्तो, यसैले त्यो अस्थायी गठबन्धनको बारेमा भारतले चिन्ता गर्नु आवश्यक छैन,’ टाइम्स अफ इन्डियाले रावतलाई उदृत गर्दै लेखेको छ ।

सेना प्रमुख रावतले प्रतिआतंकवादका लागि सदस्य राष्ट्रहरूबीच यस्ता सैन्य अभ्यासहरू जारी रहने बताए । ७ सदस्य राष्ट्रमध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशका सैनिकहरू उक्त सैन्य अभ्यासमा सहभागी भएका थिए । नेपाल र थाइल्यान्डले पर्यवेक्षकमात्र पठाएका थिए । नेपालले बिम्स्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा अन्तिम समयमा सहभागिता जनाएन ।

नेपालको सहभागितालाई लिएर सत्तारुढ पार्टीभित्रै विवाद उत्पन्न भएपछि सरकारले सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेको थियो । भदौ २५ देखि ३१ सम्म भारतमा संयुक्त सैन्य अभ्यास भएको थियो । अभ्यासमा थाइल्याण्डले पनि पर्यवेक्षक तहको मात्र सहभागिता जनायो ।

प्राविधिक र आर्थिक सहायताका लागि बनेको बिमस्टेकमा सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो । यसैबीच, नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दूमा सुरु हुँदैछ । असोज १–१२ गतेसम्म हुने अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली छेन्दू जाँदैछ ।

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु