गृहपृष्ठ प्रदेश १ मा घरेलु हिंसासम्बन्धी विधेयक पारित
प्रदेश १ मा घरेलु हिंसासम्बन्धी विधेयक पारित
प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा संसोधनसहित विधेयक पारित गरेको हो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । सामाजिक विकास समितिले प्रस्तुत गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद बुद्धिकुमार राजभण्डारीले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयकले समाजमा घरेलु हिंसा कम हुने र यसबाट असल समाज निर्माण गर्न मद्दत पुग्ने भन्दै समर्थन जनाए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले छलफलमा उठेका विषयलाई गम्भीरतापूर्वक लिएको र यसमा आएका सुझावलाई समेटेर विधेयकलाई पूर्णता दिइएको बताए ।
विधेयकको दफा १ देखि १६६ सम्मको अंग बनोस् भनी सभामुख प्रदीपकुमार भण्डारीको प्रस्ताव सर्वसम्मतिले पारित भयो । प्रदेश सभाको बैठकको शून्य समयमा सांसद अम्विका थापाले वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्ने जनतालाई व्यवस्थित गर्न धनीपुर्जा अबिलम्व प्रदान गर्न प्रदेश सरकारसँग माग गरे ।
प्रकाशित समय : २३:३७ बजे



















