global ime bank Long Banner Ad

गृहपृष्ठ हेड सरको सनही !

हेड सरको सनही !

हेड सरको सनही !

‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्छन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउनेसमेत गरेका हुन्छन् । तर कुस्माको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् ।

पर्वतको एक माविका प्रअलाई सार्वजनिक बिदाको दिन प्रायः कुश्मा बजारमा हुने बिहे लगायत अन्य शुभकार्यमा गाला फुलाई–फुलाई सनही बजाइहेको देखिन्छ । उनलाई धेरैले हेड सर अर्थात् प्रधानाध्यापक चक्रबहादुर पुन भनेर चिन्दछन् । सदरमुकामको व्यस्त बजारबीच सनही फुकिरहँदा उनले धेरैको ध्यान आफूतिर खिच्न सफल हुन्छन् ।

जलजला गाउँपालिका वडा नं ९ स्थित बनौं माध्यमिक विद्यालयका प्रअ पुन बिहेमा निर्धक्कसँग नौमतीमा रमाइरहेको देखिन्छन् । पुन र उनका समूहले नौमती बाजा बजाएर धेरैलाई मनोरञ्जन दिँदै आएको छ ।

जिल्लामा मात्र नभएर पछिल्लो समय धौलागिरि क्षेत्रमा समेत ‘मगरबाजा’ भनेर ख्याति कमाउन सफल उनको समूहले छिमेकी जिल्लामासमेत नौमती बाजा बजाउने गरेको छ । निश्चित पारिश्रमिक लिएर उक्त समूह विवाह उत्सव तथा शुभकार्यमा बाजा बजाउन हिँड्ने गर्दछ । २०५९ माघ १ बाट शिक्षण पेशा शुरु गरेका पुनले ०५९ चैत १६ बाटै प्रअको भूमिकामा छन् । करीब १५ वर्ष प्रअ भएका पुनले नौमती बाजा बजाउन लागेको भने जम्मा छ वर्ष भयो ।

विद्यालय खुलेको दिनमा सधैँ विद्यालय जाने तर सार्वजनिक बिदाका दिनमा भने बाजागाजा बोकेर बिहे तथा शुभकार्यमा बाजा बजाउन हिँड्ने उनी भन्छन्, ‘म नौमती बाजाको अत्यन्त पारखी हुँ । बाजा जहाँ बजे पनि जाउँजाउँ लाग्छ, सुरुमा परियार थरका मानिसले नौमती बजाउने गर्दथे । हामी रमाइलो हेर्न जान्थ्यौं तर बाजा बजाउने एकाध मानिस जाँडरक्सी सेवन गर्ने र होहल्ला गरी शुभकार्य नै अशुभ गराउनेसम्मको हर्कत गर्ने गरेको भेटेपछि आफैँ बाजा बनाउने समूह निर्माण थालेको हुँ ।’

नौमती बाजा मगर समुदायले बजाउने गरेपछि यसको माग पनि बढ्न थालेको छ । शहरबजारमा आधुनिक बाजा भित्रिनै लाग्दा प्रअ पुनले चलाएको अभियानबाट नौमती बाजा मात्र होइन स्थानीय गीत संगीतको समेत संरक्षण र प्रवद्र्धन भइरहेको छ । ‘हाम्रा कलासंस्कृति लोप हुने अवस्था थियो, मगरले नौमती बाजा संरक्षणको अभियान चलाएपछि खुशी लागेको छ ।’ पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा भन्छन्, ‘गाउँको गहनाका रुपमा रहेका बाजालाई संरक्षण गरेपछि हामीले चाहिएको बेला नौमती बजाउन पाएका छौं ।’

संस्कृति बचाउने मात्र होइन, टमक्क मिलेको मगर पोशाकमा महिला र पुरुष दुवै मिलेर नौमती बाजा बजाउने, नाच्ने र गाउने गर्दछ बनौंको बाजा समूहले । अहिले पर्वतमा मगर बाजाको नामबाट प्रख्यात बनौंका बाजा पर्वत मात्र नभएर पोखरा, बागलुङ, म्याग्दीबाट समेत माग बढ्न थालेको छ ।

प्रअ पुन सार्वजनिक बिदा परेका दिन आफैँ र नपरेका दिन समूहका अन्य साथीलाई बिहे तथा शुभकार्यमा बाजा बजाउन पठाउछन् ।

उनको समूहमा महिला र पुरुष दुवै संलग्न छन् । बाजा समूहले बजाउने मात्र होइन, नाच्ने, गाउने कामसमेत गर्दछ । प्रअ पुन विद्यालयको व्यवस्थापनमा मात्र मात्र नभई बचेको समयमा सनही, ट्याम्को, ढोलकी, दमाहा, झ्याली लगायत बाजा बजाउन निपूर्ण छन् । उनको विद्यालयमा २३२ विद्यार्थीका साथमा १२ शिक्षक छन् भने बाजा समूहमा ११ जना छन् । रासस ।

प्रकाशित समय : २३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु