global ime bank Long Banner Ad

गृहपृष्ठ बेलका नगरपालिका : गरिबले मासिक चामल, दाल र नुन पाउने

बेलका नगरपालिका : गरिबले मासिक चामल, दाल र नुन पाउने

बेलका नगरपालिका : गरिबले मासिक चामल, दाल र नुन पाउने

उदयपुरको बेलका नगरपालिकाले प्रत्येक महिना विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । विपन्न परिचय पत्र पाएका ५० परिवारलाई नगरपालिकाले मासिक १५ किलो चामल, २ किलो दाल, एक किलो नून वितरण गर्ने भएको हो । पहिलो चरणमा ९ जनालाई खाद्यान्न वितरण गरिएको छ ।

संविधान दिवसको अवसरमा रामपुरस्थित नगरपालिकाको सभाहलमा आयोजित ‘नेपालको संविधान, मौलिक हक र स्थानीय सरकारको भूमिका’ विषयक विचार गोष्ठिपछि विपन्न परिचयपत्र लिएर कार्यक्रममा उपस्थित ९ जनालाई खाद्यान्न वितरण गरिएको हो । बाँकी ४१ परिवारले विपन्न परिचय पत्र लिएर नगरपालिका आए जुन सुकै समयमा पनि खाद्यान्न पाउने बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।

नगरपालिकाले विपन्न नागरिकको पहिचानका लागि एक टोली बनाएको छ । पाँच वर्षदेखि नगरपालिकामा बसोबास गर्दै आएका, बेसाहारा, दीर्घ रोगी, काम गर्न नसक्ने तथा टोल विकास समितिले गरिब भनी सिफारिस गरेकाहरुले विपन्न परिचय पत्र पाउने छन् । त्यसपछि उनीहरु नगरपालिकाले घोषणा गरेको खाद्यान्न मासिक रुपमा उपभोग गर्न योग्य हुनेछन् ।

नयाँ संविधानले नेपाली नागरिकका लागि ३० वटा मौलिक हकको व्यवस्था गरेको छ । संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म मौलिक हकहरु रहेका छन् । धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । जसअनुसार प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने उल्लेख छ । प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने, कानून बमोजिम खाद्य सम्प्रभुता हक हुने व्यवस्था छ ।

सोही अनुसार नागरिकका मौलिक हक कार्यान्वयन गर्न थालिएको बेलका नगररपालिकाका नगरप्रमुख थापाले बताए । उनले नागरिक अधिकार र नगरको समृद्धिका लागि सबै दल, सबै नागरिक मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘सबै फूल नफूली बगैचा सुन्दर हुँदैन, सबै राजनीतिक दल नमिली नेपाल समृद्ध हुँदैन,’ उनले भने ।

विचार गोष्ठि कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले नगरपालिकाले राम्रो काम गरे आफूहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा नगरपालिकामा र्याली पनि निकालिएको थियो ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु