लोकप्रिय बन्दै खुला विश्वविद्यालय, डेढ वर्षमै ६५० विद्यार्थी अध्ययनरत
वि.सं.२०७५ मंसिर २४ सोमवार २१:४३
shares

घरमै बसी-बसी इन्टरनेटको माध्यमबाट अध्ययन गर्न सकिने खुला विश्वविद्यालय स्थापनाको छोटो अवधिमै लोकप्रिय बन्दै गएको छ । २०७३ सालमा ऐन आएपछि २०७४ जेठदेखि सञ्चालनमा आएको नेपाल खुला विश्वविद्यालयमा यतिबेला ६ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
कार्यव्यस्तता र शारीरिक अशक्तताका बाबजुद अध्ययन गर्न चाहनेहरुलाई मध्यनजर गर्दै स्थापित खुला विश्वविद्यालयमा अध्ययनका लागि २ हजारभन्दा बढीले फाराम भरे पनि स्रोत साधनको सीमितताका कारण साढे ६ सयलाई मात्र भर्ना गर्न सकिएको उपकुलपति लेखनाथ शर्माले जानकारी दिए ।
‘वर्तमान समयको माग र आवश्यकतालाई ध्यानमा राखेर स्थापित खुला विश्वविद्यालयले छोटो अवधिमै लोकप्रियता हासिल गरेको छ,’ उनले भने, ‘तुलनात्मक रुपमा अन्य विश्वविद्यालयले लिनेभन्दा कम पैसामा पठनपाठन गराउने र शैक्षिक गुणस्तर पनि अन्य विश्वविद्यालयको भन्दा कम नहुने भएकाले विद्यार्थी आकर्षित भएका हुन् ।’ अरु विश्वविद्यालयमा पढ्न विद्यार्थी जानुपर्ने तर खुला विश्वविद्यालय विद्यार्थीलाई पढाउन इन्टरनेटको माध्यमबाट घर–घर पुग्ने भएकाले पनि विद्यार्थीको रोजाइमा परेको उनले बताए ।
पढाइका लागि कुनै निश्चित समय नतोकिने खुला विश्वविद्यालयमा सातवटै प्रदेशका विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘अहिले ३२ करोड रुपैयाँबराबरको कार्ययोजना ल्याएका छौं तर हामीसँग बजेट ७-८ करोडमात्र बजेट छ, सरकारले पनि नयाँ विश्वविद्यालय भनेर खासै बजेट छुट्टयाएको छैन, त्यसैले पर्याप्त पठनपाठन सामग्री छैनन् ।’ विद्यार्थी कम भर्ना लिनुको मुख्य कारण पनि यही भएको उनले बताए ।

खुला विश्वविद्यालयको आफ्नै भवनसमेत छैन, आफ्ना प्राध्यापक पनि छैनन् । अन्य विश्वविद्यालयसँग प्राध्यापक लिएर काम चलाइरहेको उपकुलपति शर्माले जानकारी दिए । ‘यद्यपि, हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं,’ उनले भने, ‘नयाँ अध्यापन अवधारणा भएकाले अन्य विश्वद्यालयको बराबरी आउन भने सात-आठ वर्ष लाग्ने अनुमान गरेका छौं ।’ खुला विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी इन्टरनेटको पहुँचमा हुनुपर्छ ।
खुला विश्वविद्यालयको लोकप्रियता र महत्व बढे पनि सरकारले भने ऐन कानुन निर्माणबाट जनशक्ति र बजेट विनियोजनमा खासै चासो देखाएको छैन । लगनखेलस्थित मानस भवनमा रहेर काम गर्दै आएको खुला विश्वविद्यालयले सीमित अवधिका लागि त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र अन्य क्षेत्रबाट प्राध्यापक ल्याएर पठनपाठन सञ्चालन गरिरहेको छ ।
कुन-कुन विषय अध्यापन हुन्छ ?
नेपाल खुला विश्वविद्यालयमा नेपालका अन्य विश्वविद्यालयहरुमा झैं स्नातकदेखि पिएचडीसम्मका सबै विधा र विषयमा प्राविधिक एवं सैद्धान्तिक अध्ययन अध्यापन हुन्छ । अहिले पनि खुला विश्वविद्यालयले ‘बीबीएस’, ‘बीबीए’, ‘एलएलबी’, ‘एमबीए’, एमएसडीएमजी’, ‘एमबीएस’, एमफिल’ र ‘पीएचडी’ तहमा अध्यापन गराइरहेको छ ।
कसरी हुन्छ अध्यापन ?
नेपाल खुला विश्वविद्यालयमा अध्ययन र अध्यापन इन्टरनेटको माध्यमबाट हुन्छ । पढ्नका लागि क्याम्पस जानु पर्दैन । पढ्का लागि कुनै निश्चित समय र स्थान तोकिएको हुँदैन । नेपाल खुला विश्वविद्यालयमा विद्यार्थी भर्नाका लागि वर्षको दुईपटक ‘फेब्रुअरी र अगस्ट’ मा फाराम खुल्छ । अध्ययन गर्न चाहने विद्यार्थीले नेपाल खुला विश्वविद्यालय ‘एनओयू’ को वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ । विद्यार्थीले विद्यालयलाई बुझाउनुपर्ने सबै कागजात अनलाइनमार्फत बुझाउनुपर्ने हुन्छ भने शुल्क इन्टरनेटबाट बैंकमा बुझाउनुपर्ने हुन्छ ।
विद्यार्थी भर्ना भइसकेपछि क्याम्पसले एउटा सफ्टवेयर ‘मोक’ मा विद्यार्थीको समूह बनाएर राख्ने गर्छ । शिक्षकले सोही समूहमा रहेर पढाउने गर्छन् । विद्यार्थीले आफूलाई मन लागेका कुरा बोलेर वा लेखेर सोध्न सक्नेछन् । समूहमा रहेका सबैले एक–अर्कासँग अन्तर्क्रिया गर्न सक्नेछन् । पढाइएको सबै कुरा रेकर्ड हुने भएकाले कक्षा चलिरहेका बेला कुनै विद्यार्थी उपस्थित नभएमा आफ्नो अनुकूलको समयमा जुनसुकै बेला अध्ययन गर्न सक्नेछ । यस प्रविधिबाट पढ्नका लागि कुनै पुस्तक किन्नु पर्दैन । सबै पठनपाठन सामग्री सफ्टवेयरमै उपलब्ध हुन्छ । खुला विश्वविद्यालयको ‘एप्स’ मोबाइलको प्ले स्टोरबाटै डाउनलोड गर्न सकिन्छ ।
प्राविधिक विषयको प्रयोगात्मक अभ्यास र अन्तिम परीक्षाका लागि भने विद्यार्थी विश्वविद्यालयले तोकेको स्थानमा जानुपर्ने हुन्छ । विश्वविद्यालयले साप्ताहिक रुपमा पूरा गर्नुपर्ने गरी ‘प्रोजेक्ट वर्क’ दिन्छ । ‘प्रोजेक्ट वर्क’ नगर्ने विद्यार्थी क्याम्पसबाट ‘ड्रप आउट’ हुनेछ । कुन विद्यार्थीले कति समय पढ्यो भन्ने कुरा पनि रेकर्ड हुने भएकाले कोही पनि झुट बोलेर तोकिएको कार्यबाट पन्छिन नसक्ने उपकुलपति शर्माले जानकारी दिए ।
खुला विश्वविद्यालय किन आवश्यक ?
घरमा बसेर आफूले चाहेको समयमा जुनसुकै बेला पनि पढ्न सकिने भएकाले आउँदो पुस्ताका लागि खुला विश्वविद्यालय धेरै उपयोगी हुनेछ । उच्च शिक्षा अध्ययन गर्न चाहेर पनि कार्यव्यस्तताका कारण क्याम्पस जान नसक्ने, जागिरे, शारीरिक अशक्तता भएका तथा पढाइ छाडेर पुनः पढ्ने चाहना भएका विद्यार्थीका लागि खुला विश्वविद्यालय उपयोगी हुनेछ । आफूले चाहेको विषय पढ्न टाढा जान नसक्नेका लागि पनि विश्वविद्यालय वरदान सावित हुनेछ । गृहिणीदेखि कामकाजीसम्मलाई लक्षित गरी यो प्रणालीको विकास गरिएको हो ।

























