राष्ट्रिय संवत्को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रमदेखि नोटसम्म प्रयोग गर्न माग
वि.सं.२०८३ कात्तिक २४ मंगलवार १४:३३
shares

काठमाडौं । नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवद्र्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन तथा यसको प्रयोग विस्तार गर्न सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने प्रतिष्ठानको माग छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् कुनै एउटा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको बताए । उनले नेपाल संवत्को महत्त्व र यसको ऐतिहासिक योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा पर्याप्त विषयवस्तु समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले नेपाल संवत् पनि इस्वी संवत् र विक्रम संवत्जस्तै समय गणना गर्ने पात्रो भएको उल्लेख गर्दै नेपालको मौलिक पहिचान बोकेको संवत्का रूपमा यसको विशेष महत्त्व रहेको बताए ।
‘नेपाल संवत् भनेको जसरी हामी इस्वी संवत् भन्छौँ, त्यो पनि एउटा संवत् हो भनेर बुझ्नुपर्छ । हाम्रो जीवनमा दिन, रात, हप्ता, महिना र वर्षको जति महत्त्व छ, त्यसैगरी पात्रोको पनि महत्त्व हुन्छ । हामीले वर्षको पात्रो पल्टाउँदा इस्वी संवत्, विक्रम संवत्, नेपाल संवत् अथवा शक संवतमध्ये कुन प्रयोग गर्ने भन्ने कुरा हो । त्यसैले नेपाल संवत् नेपालको लागि धेरै महत्त्वपूर्ण र विशेषता बोकेको संवत् हो,’ उनले भने ।
उनका अनुसार नेपाल संवत् ११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको नेपालको पुरानो संवत् हो । इतिहासमा विभिन्न संवत्हरूको विकास र प्रयोग भए पनि तीमध्ये कतिपय समयक्रममा लोप हुँदै गए । तर नेपाल संवत् भने लामो समयदेखि निरन्तर चलिरहेको उनले बताए ।
नेपाल संवत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी उनीहरूलाई दासत्वबाट मुक्त गराएको ऐतिहासिक घटनासँग जोडिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । इतिहासकार स्वर्गीय भुवनलाल प्रधानको अनुसन्धान तथा ऐतिहासिक दस्तावेजका आधारमा शंखधर साख्वाले नेपाल संवत् सुरु गरेको उल्लेख गरिएको उनले बताए ।
त्यतिबेला नेपाली जनता ऋणमा डुबेका कारण जीवनयापन गर्नसमेत कठिन अवस्थामा थिए । ऋण तिर्न नसक्दा उनीहरू दासत्वको अवस्थामा रहन बाध्य भएको इतिहासमा उल्लेख रहेको श्रेष्ठले बताए । त्यस्तो अवस्थामा शंखधर साख्वाले आफ्नो धनसम्पत्ति खर्च गरेर सर्वसाधारणको ऋणमोचन गराएको र त्यसैको सम्झनामा नेपाल संवत् सुरु भएको उनको भनाइ छ ।
‘यो संवत् मानवीय कल्याणको भावनाबाट सुरु भएको हो । मानिसलाई ऋणबाट मुक्त गर्ने, दासत्वबाट स्वतन्त्र बनाउने र एक मानिसले अर्को मानिसलाई सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावनाको विकास यससँग जोडिएको छ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठका अनुसार नेपाल संवत् सुरु भएको १० वर्षपछि ऋणमोचनसँग सम्बन्धित कागजात च्यातेर ऋणमुक्तिको घोषणा गरिएको प्रसंग पनि इतिहासमा उल्लेख छ । नेपाल संवत्को सुरुवातलाई केवल समय गणनाको नयाँ व्यवस्था मात्र नभई सामाजिक न्याय र मानवीय कल्याणसँग जोडिएको ऐतिहासिक घटनाका रूपमा बुझ्नुपर्ने उनले बताए ।
उनले नेपाल संवत्को अर्को विशिष्ट पक्ष यसको नामकरण रहेको बताए । विश्वका विभिन्न मुलुकमा कुनै व्यक्तिले आफ्नो योगदानको सम्झनामा आफ्नै नामबाट संवत् सुरु गर्ने परम्परा रहे पनि शंखधर साख्वाले आफ्नो नाम नराखी मातृभूमि नेपालको नामबाट संवत् सुरु गरेको उनको भनाइ छ ।
नेपाल संवत्को प्रयोग लिच्छविकालदेखि हुँदै आएको र मल्लकालमा यसको व्यापकता बढेको अध्यक्ष श्रेष्ठले बताए । समयक्रममा यो सामाजिक तथा सांस्कृतिक उत्सवका रूपमा पनि विकसित भएको उनको भनाइ छ । अहिले नेपाल संवत्लाई ऋणमोचनको ऐतिहासिक स्मरण, सामाजिक एकता, राष्ट्रिय भावना र सांस्कृतिक उत्सवका रूपमा मनाउने गरिएको उनले बताए ।
तर पछिल्लो समय नेपाल संवत्को प्रयोग र जानकारी पुस्तान्तरण हुन नसक्दा यसको महत्त्व ओझेलमा परेको श्रेष्ठको भनाइ छ । चन्द्रशमशेरको शासनकालमा नेपाल संवत्को प्रचलन हटाएर विक्रम संवत् सुरु गरिएपछि यसको प्रयोग क्रमशः घट्दै गएको उनले बताए ।
‘जब मानिसलाई आफूसँग भएको वस्तुबारे नै थाहा हुँदैन, त्यसको महत्त्व पनि बुझ्दैन । हामीले विद्यालयमा जे पढाउँछौँ, विद्यार्थीले त्यही सिक्छन् । विद्यालयमा जनवरी, फेब्रुअरी, मार्च र वैशाख, जेठ, असार पढाइन्छ तर नेपाल संवत्का विषयमा पर्याप्त जानकारी दिइँदैन,’ उनले भने ।
नेपाल संवत्को तिथि, साल, स्थापना, राष्ट्रियता र सामाजिक महत्त्वबारे विद्यालय तहदेखि नै पठनपाठन हुनुपर्ने उनको माग छ । यसलाई पाठ्यक्रममा व्यवस्थित रूपमा समावेश गर्नु राज्यको दायित्व भएको उनले बताए ।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन र यसको प्रयोग विस्तार गर्न करिब ४७ वर्षअघि संगठित आन्दोलन सुरु भएको श्रेष्ठले जानकारी दिए । आन्दोलनको नेतृत्व नेवार समुदायका अगुवाले गरे पनि यसको उद्देश्य सम्पूर्ण नेपालीको साझा संवत्का रूपमा स्थापित गर्नु रहेको उनले बताए ।
आन्दोलनका क्रममा पद्मरत्न तुलाधरलगायतका अगुवाले नेपाल संवत् नेवार समुदायको मात्र नभई सबै जातजाति र नेपालीको साझा संवत् भएको विषय निरन्तर उठाएको उनले स्मरण गरे । तर आन्दोलनको नेतृत्व नेवार समुदायले गरेकाले नेपाल संवत् नेवार समुदायको मात्र हो भन्ने बुझाइसमेत समाजमा विकास भएको उनको भनाइ छ ।
२०४६ सालको जनआन्दोलनपछि नेपाल संवत्को ऐतिहासिक महत्त्व र सामाजिक योगदानबारे थप चर्चा हुन थालेको श्रेष्ठले बताए । त्यसपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको, उहाँको नाममा हुलाक टिकट प्रकाशन गरेको र नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको उनले जानकारी दिए ।
उनका अनुसार करिब तीन वर्षअघि मन्त्रिपरिषद्ले विक्रम संवत् प्रयोग गरिने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको थियो । अहिले मन्त्रालय, विभाग, सरकारी कार्यालय, नगरपालिका तथा गाउँपालिकाबाट हुने पत्राचारमा नेपाल संवत् उल्लेख हुन थालेको उनले बताए ।
यद्यपि सरकारी निर्णय कार्यान्वयनमा आए पनि नेपाल संवत्को प्रयोगलाई अझ व्यापक बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि प्रतिष्ठानले विभिन्न प्रविधिगत पहलसमेत गरेको छ ।
प्रतिष्ठानले स्पाइरल इन्टरनेसनलको सहयोगमा नेपाल संवत् एप निर्माण गरेको छ । उक्त एपमार्फत नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्का मिति तथा तिथि हेर्न र एक संवत्को मितिलाई अर्को संवत्मा रूपान्तरण गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए । यसबाट विगतका २०, ३०, ४०, ५० तथा १०० वर्षअघिका मिति र तिथिसमेत हेर्न सकिने उनको भनाइ छ ।
त्यस्तै कम्प्युटर तथा ल्यापटपमा प्रयोग गर्न मिल्ने नेपाल संवत्सम्बन्धी विजारसमेत निर्माण गरिएको उनले जानकारी दिए । यी दुवै प्रविधिगत सामग्री प्रतिष्ठानले सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
तर यी सामग्री निर्माण तथा अनुसन्धानमा सरकारले आर्थिक लगानी नगरेको अध्यक्ष श्रेष्ठको गुनासो छ । नेपाल संवत्को प्रवद्र्धनका लागि आवश्यक अनुसन्धान, प्रविधि विकास र प्रचारप्रसारमा राज्यले बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।
नेपाल संवत्लाई नेपाली नोट तथा सिक्कामा समेत प्रयोग गर्न प्रतिष्ठानले सरकारसँग माग गर्दै आएको छ । नेपाली मुद्रा प्रयोग गर्ने नागरिकले आफ्नो देशको मौलिक संवत् पनि त्यसमा देख्न पाउनुपर्ने उनको तर्क छ।
‘हामीले नेपाली नोट र सिक्का प्रयोग गर्छौँ । त्यसमा नेपाल संवत् पनि प्रयोग हुनुपर्छ भनेर सरकारलाई घचघच्याइरहेका छौँ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्न माग गरिएको थियो । तर त्यसबेला नेपाल संवत्को सट्टा विक्रम संवत् उल्लेख गरिएको र पछि इस्वी संवत्समेत थपिएको उनले बताए । यसलाई राज्यका प्रशासनिक संयन्त्रमा भएको कमजोरीका रूपमा उल्लेख गर्दै आगामी दिनमा नेपाली नोटमा नेपाल संवत् समावेश गर्नुपर्ने उनले माग गरे ।
त्यसैगरी नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्नुपर्ने माग पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न नेता तथा साहित्यकारका नाममा राष्ट्रिय पुरस्कार स्थापना भए पनि नेपाल संवत् सुरु गर्ने ऐतिहासिक व्यक्तित्वको नाममा अहिलेसम्म राष्ट्रिय पुरस्कार स्थापना नहुनु दुःखद् भएको श्रेष्ठले बताए ।
नेपाल संवत् चन्द्रमाको गतिका आधारमा गणना हुने भएकाले यसको तिथि र मितिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनले बताए । इस्वी संवत् र विक्रम संवत् सौर्यमासका आधारमा गणना हुने भएकाले यी संवत्हरूबीच गणनाको प्रकृतिमा भिन्नता रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार समय मिलानका विषयमा नेपालले पनि आवश्यक अध्ययन गर्नुपर्ने उनले बताए ।
नेपाल संवत्को नयाँ वर्ष मनाउने क्रममा पछिल्लो समय स्थानीय तह तथा विभिन्न संस्थाबाट सामान्य सहयोग हुन थालेको श्रेष्ठले बताए । कतिपय स्थानमा चियापान, सरसफाइ तथा अन्य कार्यक्रमका लागि स्थानीय तहले सहयोग गर्ने गरेको उनले जानकारी दिए ।
तर यस्ता प्रयास पर्याप्त नभएको भन्दै उनले नेपाल संवत्को संरक्षण र प्रवद्र्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । यसका लागि विद्यालयको पाठ्यक्रममा समावेश गर्ने, सरकारी कागजातमा प्रयोग गर्ने, नेपाली नोटमा उल्लेख गर्ने, शंखधर साख्वाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने र प्रविधिगत विकासमा लगानी गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।
नेपाल संवत् नेपालको नामबाट स्थापित भएको विशिष्ट संवत् भएकाले यसको संरक्षण गर्नु सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको अध्यक्ष श्रेष्ठले बताए ।

























