पोखरीमा डुबेर वेपत्ता भएका भगत मृत भेटिए
वि.सं.२०७५ मंसिर २५ मंगलवार २०:५०
shares

कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव मंगलबार बिहान फेला परेको छ । स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको ब्याट पोखरीमा खसेपछि सो ब्याट झिक्न कोइरी सोमबार पोखरीमा पसेका थिए ।
पोखरीको पानी अत्याधिक चिसो भएका कारण सन्तुलन गुमाएपछि उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोइरी पानीमा डुबेको देखेपछि बालबालिकाले स्थानीयवासीलाई खबर गरेका थिए । सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले करीब तीन घण्टा खोजी गरे पनि कोइरीको अवस्था पत्ता लाग्न सकेन ।
मंगलबार बिहान पुनः खोजी गर्दा पोखरीमा कोइरीको शव भेटिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
रासस

























