पत्याउनुहुन्छ ? तपाईंको गोजीमा सुनको खानी छ
वि.सं.२०७५ मंसिर २९ शनिवार १४:४१
shares

हामीले तपाईंको गोजीमा सुनको खानी छ भन्यौं भने पत्याउनुहुन्छ ? पत्याउनुहुन्न हैन ? तर, यो सय प्रतिशत सत्य कुरा हो । सुनको खानी तपाईंको गोजीमा भएको मोबाइल हो । मोबाइल मात्रै होइन, यस्ता खालका तमाम विद्युतीय समाग्रिमा यति सुन–चाँदी हुन्छन्, जति खदानबाट निकै मेहनतपछि निकालिन्छ ।
कुनै खदानबाट तीनदेखि चार ग्राम सुन निकाल्नका लागि करिब एक टन अयस्क छान्नुपर्छ । तर, मोबाइल फोन, ट्याब्लेट र ल्यापटपजस्ता एक टन विद्युतीय कचडाबाट करिब ३५० ग्राम सुन निकाल्न सकिन्छ ।
मान्छेसँग रहेका तर थाहा नपाएका यस्ता सुन–चाँदी खदानको दोहन टोक्योमा सन् २०२० मा हुने ओलम्पिक खेलका लागि गरिँदैछ । टोक्यो २०२० ओलम्पिक आयोजकले यी खेलको मेडल अर्थात पुरस्कार ‘अर्बन माइनिङ्ग’मा मिलेका धातुहरुबाट तयार पार्नेछ । ओलम्पिकमा करिब ५००० मेडल दिइने छ ।
यसका लागि आयोजक समिति विद्युतीय कचडामा पाइने धातुहरु निकालेर सुन, चाँदी र अन्य काँसका मेडल तयार गर्नमा जुटेको छ । यसको अर्थ, संसारको सबैभन्दा प्रतिष्ठित खेलको मेडल कचडाबाट तयार पारिने छ ।
प्रयोगपछि फ्याँकिएका विद्युतीय समाग्रिको कचडा यतिबेला संसारभर बढिरहेको छ । यस्ता कवाडी निकै खतरनाक र विषालु हुन्छन् । तर, यी विद्युतीय कवाडी महंगा धातुहरुको खदान पनि हुन् । यही खदानबाट टोक्यो २०२० ओलम्पिकका मेडल बनाइने छ । काम नलाग्ने अवस्थामा रहेका विद्युतीय सामाग्रि दान गर्न आयोजक समितिले जापानका मानिससँग अपिल गरेको छ ।
यो प्रोजेक्ट पछिल्लो वर्ष अप्रिलमा सुरु भएको थियो । आयोजकले अहिलेसम्म पाएको विद्युतीय कचडाबाट १६.५ किलो सुन र १८०० किलोग्राम चाँदी निकालेको छ । जबकि, आवश्यक २७०० किलो काँस आयोजकले निकालिसकेको छ । ‘हाम्रो आवश्यकताको ५४.५ प्रतिशत सुन र ४३.९ प्रतिशत चाँदी हामीले हासिल गरिसक्यौं,’ टोक्यो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा टकायाले भने ।
यो चाखलाग्दा प्रोजेक्टका कारण संसारमा बढ्दो विद्युतीय कचडा व्यवस्थापनको सहज तरिका पनि देखिएको छ । संयुक्त राष्ट्र संघको आँकडाअनुसार सन् २०१६ सम्म संसारले करिब साढे चार करोड टन विद्युतीय कचडा पैदा गरेको थियो । यस्तो कवाडी प्रत्येक वर्ष ३–४ प्रतिशतको दरले बढिरहेको छ । तपाईंले यी विद्युतीय कवाडीलाई १८ चक्के ४० टनको ट्रकमा लाद्नुभयो भने यसबाट १२.३ करोड ट्रक भरिन्छ । यी ट्रक एकै ठाउँ दगुरे भने पेरिसदेखि सिंगापुरसम्मको दुई लेनको बाटो भरिने छ ।
सन् २०२१ सम्म संसारमा विद्युतीय कवाडी ५.२ करोड टन पुग्ने आशंका गरिएको छ । अर्को विडम्बना त यो कि यसमध्ये बढी ई–वेस्ट कहिले संकलन केन्द्रसम्म पनि पुग्दैन । यो जापनको मात्रै कुरा होइन, नेपालसहितका हरेक देशको हालत यस्तै छ । संयुक्त राष्ट्र संघको तथ्याङ्कअनुसार काम नलाग्ने अवस्थामा पुगेका २० प्रतिशत विद्युतीय सामाग्रिको मात्रै रिसाइकल गरिन्छ । बाँकी कवाडी मानिसहरुले घरमै राखेर बिर्सिन्छन् वा कतिपयले फ्याकिदिन्छन् । यसरी फाल्नु मुर्खतामात्रै होइन, खतरनाक आदत पनि हो । किनकि, विद्युतीय कवाडीले हाम्रो माटो र पानीलाई विषालु बनाइदिन्छ । तर, अब यस्ता कवाडीलाई महँगो धाँतुको खदानको रुपमा हेरिएको छ र जापानले यसको उदाहरण पेश गरिदिएको छ ।



























