घटेको बेला यसरी लिने सेयर बजारबाट फाइदा, १० सुझाव
वि.सं.२०७५ पुस १ आइतवार १३:०३
shares

अढाई वर्षअघि २०७३ साल साउन १२ गते सेयर बजार परिसूचक नेप्से १८८१ अंकमा पुग्दा बजारमा उचालिएको हल्ला हो- नेप्से अब २१-२२ सयसम्म पुग्छ । दैनिक ८-१० करोडको बजार बढेर सवा २ अर्बसम्म पुग्दा लगानीकर्ताको उत्साहमाथि टेकेर हल्लाबाजहरुले प्रपञ्च गर्नु ठूलो कुरा पनि भएन । नेप्से लगातार बढिरहेका बेला सेयर किनेर फर्किने अनि ‘मैले फलानो कम्पनीको सेयर किनेँ, कस्तो छ त्यो कम्पनी ?’ भनेर सोध्नेहरुको जमात बजारमा उर्लिएका बेला नै उनीहरुले यस्तो हल्ला चलाउने हुन् । ताकि, बजार थप उचालियोस् र आफूसँग भएका सेयरको राम्रो मूल्य लिएर निस्किन सकियोस् ।
तर, बोनस र हकप्रदको भारीले किच्दै गरेको बजार बढ्दो ब्याजदरको पाङ्ग्रोमा ओरालोतिर गुड्न थालेको धेरैले मेसो पाएनन् । दुई–चार दिन बजार घट्दा पनि ‘अझै बढ्छ’ भन्ने लोभमा कतिपयले सेयर बेचेनन् भने कतिपयले थपिरहे । नेप्सेको परिसूचक कतिबेला बढ्छ र कतिबेला घट्छ भन्ने कुरा सेयर बजारमा राम्रै दख्खल राख्नेहरुले पनि अनुमानमात्र गर्ने हुन् । यस्तो अन्योलमा कम्पनी विश्लेषण गर्न नजान्ने तथा अरुको लहैलहै र हल्लाका भरमा बजार प्रवेश गर्नेहरुले नाफा बुक गर्दै किनबेचको तारतम्य मिलाउन् पनि कसरी ?
सेयर बजारमा प्रवेश गर्न जति सजिलो छ, त्योभन्दा धेरै गाह्रो छ निस्किन । सेयर किन्न हचुवा र हल्लाले पनि पनि मद्दत गर्न तर बेच्न आफैं निर्णय गर्नुपर्ने हुन्छ । र, ज्ञानको अभावमा बजार प्रवेश गर्नेहरु अज्ञानताकै कारण बजारबाट बाहिरिने सही निर्णय लिन सक्दैनन् । किनभने, बजारबाट बाहिरिन नेप्सेको परिसूचक होइन, समग्र बजारको अवस्थासँगै आफ्नो लगानीको पोर्टफोलियो र नाफा–घाटाको स्थिति विश्लेषण गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि, कुनै कम्पनीको सेयर खरिद गर्नुअघि नै ‘यति प्रतिशत या प्रतिकम्पनी यति रुपैयाँ नाफा भयो भने बेच्छु’ भन्ने संकल्प गरेको हुनुपर्छ । बजार लगातार उकालो लाग्यो भने आफ्नो संकल्पमा १० प्रतिशतसम्म रिभ्यु गर्न सकिन्छ । सेयर ओरालो लाग्न थाल्यो भने आफ्नो घाटा बहन गर्नसक्ने क्षमता कति हो भन्ने सेयर किन्नुअघि नै निक्र्यौल गरिसक्नुपर्छ । त्यतिवटा कम्पनीको सेयर किन्नुपर्छ, जति कम्पनीको बारेमा निरन्तर चासो राख्न सकिन्छ अर्थात् अध्ययनका लागि समय दिन सकिन्छ ।
सेयर बजार बढेका बेला दायाँ-बायाँ नसोची लगातार प्रवेश गरिरहनेहरु सधैं डुब्छन् । १८८१ बाट बजार ह्वात्तै ओरालो लागेर ११०० नजिक आइपुगेको होइन । बजारमा एकैपटक ४० प्रतिशतको गिरावट आएको होइन । बजार यति घट्न २८ महिना लागेको छ । यसबीचमा लगानीकर्ता आत्तिँदै, थेगिँदै, आत्तिँदै थेगिँदै अनि पचाउँदै यहाँसम्म आइपुगेका छन् । आफ्नै गोजीको पैसा लगानी गर्नेहरु ‘एक दिन त कसो नबढ्ला’ भनेर बसे पनि आफूसँग भएको सेयर या अन्य सम्पत्ति धितो राखेर सेयर किन्नेहरुको बेहाल भइसकेको छ । जो यतिखेर ‘बजार बढाइदिन आग्रह गर्दै’ सडकमा पुगेका छन् ।
सेयर बजारमा केही वर्ष ‘खेलेर’ आफूले निकै अनुभव हासिल गरिसकेको ठान्नेहरुलाई पनि बजार सडकबाट बढ्दैन भन्ने हेक्का नरहनु दुर्भाग्य नै हो । किनकि, सेयर बजारले आफ्ना, आफन्त, इष्टमित्र, दाजुभाइ कोही कसैलाई चिन्दैन । यो आफ्नै गतिमा हिँड्छ । सेयर आपूर्ति बढ्यो भने मूल्य घट्छ, माग बढ्यो भने मूल्य बढ्छ । नेपाल राष्ट्र बैंकले बजारमा पैसाको सन्तुलन कायम राख्न सकेन भने ब्याजदरमा उतारचढाव आउँछ । जसका कारण बजार प्रत्यक्ष प्रभावित हुन्छ । यसतर्फ भने लगानीकर्ता चनाखो हुनुपर्छ । समग्रमा, दोस्रो बजार हल्लाको बजार होइन, रातारात कमाउने थलो होइन, पूर्वअर्थमन्त्री रामशरण महतले भनेझैं धनी र सहरियाहरुको मात्र बजार पनि होइन, यो त कम्पनी अध्ययन र विश्लेषण गर्न सक्नेहरुको बजार हो ।
दोस्रो बजारमा कहिले र कसरी प्रवेश गर्ने ?
दोस्रो बजारमा प्रवेश गर्ने सजिलो उपाय भनेको पैसा होइन, तरिका हो । दोस्रो बजारमा प्रवेश गर्न चाहनेले सुरुमा प्राथमिक बजारबारे राम्रो ज्ञान राख्नुपर्छ । आइपीओ खरिद गर्दा जोखिम कम हुन्छ । कम जोखिमको क्षेत्रमा रहेर बजारबारे ज्ञान हासिल गर्नु सबैभन्दा उत्तम उपाय हो । लगानीकर्ताले प्राथमिक बजारमा रहेर नेप्सेमा सूचीकृत कम्पनीहरुको अध्ययन गर्नुपर्छ । नेप्सेको वेबसाइट निरन्तर हेर्नुपर्छ । त्यहाँबाट धेरै ज्ञान हासिल गर्न सकिन्छ । कम्पनीले जारी गर्ने सूचनाहरु नछुटाई अध्ययन गर्नुपर्छ । कम्पनीको सूचनाले लगानीकर्तालाई दोस्रो बजारबारे धेरै ज्ञान दिन्छ ।
दोस्रो बजारमा प्रवेश गर्न चाहनेका लागि १० सुझाव :
१. दोस्रो बजारमा प्रवेश गर्न कम्तीमा कम्पनीको पाँच वर्षको वित्तीय स्थिति अध्ययन गर्नुपर्छ । यसबाट कम्पनीको अवस्था थाहा हुन्छ । लगातार पाँच वर्ष नाफामा रहेको, नाफा बढ्दै गएको, नाफाको वृद्धिदर पनि उच्च हुँदै गएको जस्ता आधार लगानीका लागि महत्वपूर्ण हुन्छन् । नियमित र तोकिएको समयमै साधारणसभा गर्ने कम्पनी लगानीकर्ताका लागि लाभदायक हुनेछन् ।
२. कम्पनीले विगतमा बोनस बाँडिरहेको छ कि लाभांश बाँडिरहेको छ, त्यसको अध्ययन गर्नुपर्छ ताकि आफूले कस्तो प्रकृतिको कम्पनीको सेयर खरिद गर्न चाहेको हो, त्यो स्पष्ट गर्न सकियोस् ।
३. कम्पनीको सञ्चालक समितिमा कस्ता मान्छे छन् ? उनीहरुको वित्तीय अवस्था कस्तो छ ? वित्तीय सुशासन कायम गर्न सकेका छन् कि छैनन् ? जस्ता कुराहरुको अध्ययन गर्नुपर्छ । राम्रा मान्छेले चलाएको कम्पनी पक्कै पनि नराम्रो हुँदैन ।
४. लगानीकर्ताको अत्याहट र छटपटाहट, लगानीकर्ता सडकमा उत्रिनु, बजार ध्वस्त हुँदैछ भन्नेजस्ता हल्ला चल्नु, अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेविरुद्ध लगानीकर्ता आक्रोशित हुनु र यी निकायले समस्या समाधानका लागि भन्दै समिति गठन गर्न थाल्नु जस्ता घटनाले सेयर बजार न्यून विन्दुनजिक रहेको संकेत गर्छ ।
५. सेयर न्यून विन्दुनजिक भएका बेला गरेको लगानीले डुबाउँदैन । तर, न्यून विन्दु या उच्च विन्दु कहिल्यै यकिन नहुने भएकाले एकैपटक बेच्ने या एकैपटक किन्ने गर्नुहुँदैन । आफूसँग भएको पैसाको १०–१५ प्रतिशत रकमबाट सेयर खरिद गर्न थाल्नुपर्छ । बढ्दै जान्छ, किन्दै जानुपर्छ ।
६. सेयर बजारमा ‘इन्भेस्ट’ र ‘ट्रेड’ दुवै गर्नुपर्छ । आफूसँग भएको पैसाको ८० प्रतिशतसम्ममात्र लगानी गर्ने र त्यसको पनि ७० प्रतिशत ‘इन्भेस्ट’ र ३० प्रतिशत ‘ट्रेड’ गर्नेगरी पोर्टफोलियो बनाउनुपर्छ अर्थात् सबै पैसाले एउटै कम्पनीको सेयर किन्नु हुँदैन । इन्भेस्ट भन्नाले दीर्घकालीन लगानी र ट्रेड भन्नाले अल्पकालीन लगानी भन्ने बुझिन्छ । अल्पकालीन लगानी गर्ने भए किनेपछि कति बढेमा बेच्ने, घटेपछि कतिमा किन्ने या किनेपछि घटेमा कति मात्र घाटा खाएर बेच्ने भन्ने लगानी गर्नुअघि नै तय गर्नुपर्छ ।
७. सेयर बजारमा आफ्नो पैसामात्र लगानी गर्दा जोखिम कम हुन्छ । ऋण लिएर लगानी गरे जोखिम बढ्छ । मूल्य घटे ब्याज र साँवा दुवैले नोक्सानी बढाउँछ । यसतर्फ पनि विचार गरेर लगानी गर्नुपर्छ ।
८. सेयर बजार घटेका बेला किन्न डर लाग्छ । त्यही बेलाको लगानीले ठूलो प्रतिफल दिन्छ । त्यसकारण बजार घटेका बेला राम्रोसँग अध्ययन गरेर नडराई सेयर किन्नुपर्छ । बढ्न थालेपछि मान्छे लोभी बन्छ । त्यतिबेला बेच्नुपर्छ । अर्थात्, अरु डराएका बेला किन्ने र अरु लोभी बनेका बेला बेच्ने गर्नुपर्छ । बजार तीव्र गतिले बढेको या तीव्र गतिले घटेका बेला प्रवेश नगर्नु नै उत्तम हुन्छ । घटेर स्थिर बनेको अहिलेको जस्तो अवस्था लगानीका लागि उपयुक्त हुन सक्छ ।
९. बजारमा सधैं एउटै कम्पनी राम्रो भइरहँदैन । अवस्थाअनुसार कम्पनी पुनरावलोकन गर्नुपर्छ । ‘मार्केट लिडर’ कम्पनीमा लगानी गर्न सके ठूलो प्रतिफल लिन सकिन्छ ।
१०. कम्पनीको स्वअध्ययनसँगै विज्ञ, विश्लेषक तथा ब्रोकर कार्यालयहरुसँग सल्लाह, सुझाव लिन उपयुक्त हुन्छ । सुझाव बढीभन्दा बढी ग्रहण गर्ने तर निर्णय आफूले लिने बानीले लक्ष्य सहज बनाउँछ ।

























