ओलीप्रति वामदेवको आक्रोश- सरकारले पार्टीको भविष्य नै संकटमा पा-यो
वि.सं.२०७५ पुस १ आइतवार १३:४६
shares

नेकपाका वरिष्ठ नेता वामदेव गौतमले वर्तमान सरकारको अलोकप्रिय कामकारबाहीका कारण आउँदो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशभर हार व्यहोर्नुपर्ने अवस्था आउने खतरा औंल्याएका छन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि फरक प्रतिवेदन पेस गर्दै नेता गौतमले यस्तो खतरा औंल्याएका हुन् ।
पार्टी अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारकै कारण अहिले कांग्रेसले झैं अर्काे निर्वाचनमा नेकपाले शर्मनाक हार व्यहोर्नुपर्ने उनले उल्लेख गरेका छन् । ‘नेपालको इतिहासमा पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अब हुने आमनिर्वाचनमा सरकारले आफूलाई मात्र होइन, इतिहासको पहिलो शक्तिशाली पार्टी नेकपालाई समेत गम्भीर धक्का लगाउने देखिन्छ’ शनिबारको बैठकमा पेस गरिएको २२ पृष्ट लामो राजनीतिक प्रतिवेदनको फरक मतसहित गौतमले राखेको १६ पृष्ठ लामो प्रतिवेदनमा भनिएको छ ।

नेकपाको सरकार गठन हुँदा आमनागरिकमा भएका उत्साह अहिले निराशामा परिणत भएको समेत उनको टिप्पणी छ । ‘सरकारले आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेपछि चारैतिर निराशा छाउन थाल्यो । अहिलेसम्म सरकार र पार्टीका जिममेवार नेताहरुका गतिविधिले निराशा झन् बढ्न थालेको छ,’ गौतमको प्रतिवेदनमा उल्लेख छ । अहिले प्राप्त भएको दुई तिहाई बहुमत आफैंलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावनाबारे बौद्धिक व्यक्तित्वहरुले विश्लेषण गर्न थालेको समेत गौतमले त्यसक्रममा बताएका छन् । अध्यक्ष ओलीप्रति लक्षित गर्दै गौतमले पार्टीमा व्यक्तिवादी कार्यशैली हावी भएको समेत आरोप लगाएका छन् ।
लामो समयदेखि स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक शनिबारबाट सुरु भएको हो । विधानमा तीन महिनामा एकपटक बस्नुपर्ने भनिएको बैठक सचिवालयको बेवास्ताका कारण बस्न सकिरहेको थिएन । गत २२ गते चार सचिवालय सदस्यहरुले बैठक नै बहिष्कार गरेपछि बाँकी पाँच सदस्यले २९ गतेका लागि बैठक बोलाएका हुन् ।
स्थायी समिति बैठक यसअघि असार २१ मा छोटो समयका लागि बसेको थियो । त्यसअघि असार २ मा बैठक बसेको थियो । तर, विधानअनुसार असोज २१ वरिपरिमा बस्नुपर्ने अर्को बैठक मंसिर अन्तिममा सुरु भएको हो ।समयमा बैठक बस्न नसक्दा कतिपय सानातिना असमझदारी पनि कचल्टिँदै गएको नेताहरुले स्वीकारेका छन् ।
यस्ता छन् बैठकका एजेन्डा
सांगठनिक एकीकरण र सरकारको समीक्षा स्थायी कमिटीको मुख्य एजेन्डा छ । प्रदेश कमिटीका विषयमा अन्तिम निर्णय गर्ने, जनवर्गीय संगठनको एकीकरण, जिल्ला कमिटीहरुको एकीकरणलाई पूर्णता दिने, केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेलगायतका काम राजनीतिक प्रतिवेदनबाट हुनेछ । सरकारको कामलाई समीक्षा गरेर थप प्रभावकारी र परिणाममुखी बनाउनका लागि नयाँ कार्ययोजना बनाउने काम पनि बैठकबाट हुने नेताहरुले बताएका छन् ।
यसअघि, सचिवालयले गरेका निर्णयहरुलाई अनुमोदन गर्ने प्राविधिक काम पनि यही बैठकमा हुनेछ । पार्टीको प्रकाशित विधानमै सचिवालयका सम्बन्धमा आफूले गरेका निर्णयहरु अनुमोदनका लागि केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीमा प्रस्तुत गर्ने उल्लेख छ । तर, सचिवालय र त्यसमा पनि ‘अध्यक्षद्वयको चाहना र स्वार्थ’मा गरिएका कतिपय निर्णयमा एकलौटी भएकाले यस बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

























