पुस १ गतेलाई कालो दिवसका रुपमा मनाईंदै
वि.सं.२०७५ पुस १ आइतवार १४:५९
shares

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात भएको घोषणा गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी हुने क्रममा तत्कालीन प्रधानमन्त्री बिपीसहितका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए ।
पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिन भएको भन्दै यस दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । आज पनि देशभर विभिन्न कार्यक्रम गरिने जनाइएको छ । (रासस)

























